उधौली पर्वमा इलाम नगरपालिकाले विदा नदिएकोप्रति कियाचुद्वारा दु:ख व्यक्त

  नयाँ बुलन्द
0 Shares

इलाम : आदिवासी किरातीहरुको राष्ट्रिय चाड उधौली पर्वको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि इलाम नगरपालिकाले विदा नदिएकोप्रति किरात याक्थुङ चुम्लुङ इलामले दु:ख व्यक्त गरेको छ ।

प्रदेश १ सरकाले सावर्जनिक विदा दिदाँ समेत आदिवासीहरुको बाहुल्यता रहेको प्रदेश १ भित्रकै इलाम नगरपालिकाले विदा नदिएर आदिवासी जनजाति समुदायप्रति अपमान गरेको भन्दै दु:ख व्यक्त गरेको हो ।

शनिबार किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति इलामको बैठक नै बसेर दु:ख व्यक्त गरेको हो । बैठकको निर्णय सावर्जनिक गर्न प्रेस वक्तव्य जारी गर्दै किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले दोस्रो नम्बरको निर्णयमा त्यस्तो उल्लेख गरेको छ ।

‘आदिवासी किरातीहरुको राष्ट्रिय चाड उधौली (‍चासोक तङनाम) २०७६ मा प्रदेश १ सरकारले सार्वजनिक विदा दिएपनि आदिवासीहरुको बाहुल्यता रहेको इलाम नगरपालिकाले सार्वजनिक विदा नदिएर आम आदिवासी जनजाति समुदायप्रति गरेको अपमानप्रति किरात याक्थुङ चुम्लुङ इलाम दु:ख व्यक्त गरियो’ दोस्रो निर्णयमा उल्लेख छ ।

यसवर्ष उद्यौली मंसिर २६ गते परेको थियो । उद्यौलीको दिन प्रदेश १ सरकारसँगै प्रदेश १ का अधिकांश नगर तथा गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको थियो ।

उद्यौली पर्वलाई किरात लिम्बू समुदायले चासोक तङनाम, राई समुदायले साकेला उद्यौली, सुनुवार समुदायले फोलस्याँदर र याक्खा समुदायले चासुवा नामले मनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार