प्रदेश ३ को नाम नेवा: ताम्सालिङ : जमरकटेल

  ज्ञानु केदेम लिम्बू
0 Shares

सिन्धुली : प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकटेलले प्रदेश ३ को नाम नेवा: ताम्सालिङ कायम गर्नुपर्ने बताएका छन् ।

ऐेतिहासिकस्थल सिन्धुली गढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जमरकटेलले त्यस्तो बताएका हुन् ।

“संघीयता उत्पीडित समुदायले मागेको हो । कुनै नदिनाला, हिमाल पहाडले मागेका होइनन्” मन्त्री जमरकटेलले भने, “शासन सत्ताले उत्पीडन गरेको समुदायलाई समावेशी समानुपातिकता चाहिएको छ ।”

उनले शासकले इतिहास लुकाएको बताए । उनले थपे “ऐतिहासिक स्थल सिन्धुली गढीमा वीर योद्धा बंशु गुरुङको शालिक स्थापना गर्न आवश्यक छ ।”

सरकारले लागू गर्दै आएको नियम, कानून, निर्देशिकाहरु संविधानको मर्म विपरीत छ भने सञ्चारकर्मीले सच्याउन आवाज उठाउन जमरकटेलले आग्रह गरे । बाहुन क्षेत्री समुदायको सोचाइ संकुचित रहेको भन्दै फराकिलो सोचाइ र बुझाइमा जान उनले अनुरोध समेत गरे ।

राष्ट्रिय भेलामा प्रदेश ३ का सांसद प्रदीप कटुवाल, फोनिज संघीय समितिका सल्लाहकारद्वय खिम घले र उजीर मगर, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्री, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्य, नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष चिनीमाया माझी, प्रेस युनियन नेपालका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष राजन कार्की लगायतले बोलेका थिए ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष गजुरधन राईले र संचालन महासचिव मनोज घर्ती मगरले गरेका थिए ।

राष्ट्रिय भेलामा सहभागी पत्रकारहरुलाई ऐतिहासिक स्थल सिन्धुली गढीमा स्थानीयले फूलमालाले स्वागत तथा सम्मान गरेक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार