आत्मानन्द कप : उपाधिका लागि दार्जिलिङ र दमक भिड्ने

तस्वीर सौजन्य : आन्छुमे नसान

इलाम : इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधिका लागि विदेशी र स्वदेशी टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

मंगलबार हुने फाइनलमा मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जिलिङ भारत र भाङबारी स्पोटिङ क्लब दमक झापा आमनेसामने हुँदैछन् ।

सोमबार भएको अन्तिम सेमिफाइनलमा रेडस्टार फूटबल क्लव बिर्तामोड झापा विरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै दमक फाइनलमा प्रवेश गरेको हो । जितसँगै दमकले दार्जिलिङसँगको भेट पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टिम दोस्रो हाफमा आक्रमक खेल प्रदर्शन गर्यो । ५९ औं मिनटमा कर्ण लिम्बूको गोलबाट दमकले अग्रता लियो । ६७ औं मिनटमा विकास बस्नेतको गोलबाट पुनः दमकले अग्रता दोब्बर बनायो । यता विर्तामोडका तर्फबाट भने खेलको ७३ औं मिनेटमा बबिन बोहोराले सान्तावना गोल फर्काएका थिए । म्यान अफ दि म्याच विजेता दमकका विकास बस्नेत घोषित भए ।

दार्जिलिङ भने यसअघि एएससी अर्जुनधारा झापालाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार