भूतपूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र झलनाथ तथा सभामुख सुवासचन्द्र नेम्बाङलाई खुलापत्र

आदरणीय भूतपूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड एवं झलानाथ खनाल तथा सभामुख सुवासचन्द्र नेम्बाङ ज्यू

हार्दिक अभिवादन ।

हार्दिक स्वागत

अरुण नेपाल

यहाँहरू तिनैजना इलाम आउँदै हुनुहुन्छ भन्ने कुरा सामाजिक सञ्जाल मार्फत थाहा भयो । यहाँहरू तिनैजनालार्इ प्रकृतिकै अनुपम उपहार नेपालकै एक शुन्दर नगरी इलाममा हार्दिक स्वागत छ । सायद सम्बृद्ध नेपाल र सुखी नेपालीको अभियान लिएरै होला यहाँहरू देश दौडाहामा निस्कनु भएको । उक्त नारा सफल पार्न गुणस्तरीय शिक्षाले लैस तथा सेवाको भावनाले ओतप्रोत, जिम्मेवार र राष्ट्रप्रति समर्पित उच्च स्तरीय जनशक्ति चाहिन्छ भन्ने सत्य यहाँहरूलार्इ थाहा नहुने कुरै भएन । त्यस्ता गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रमुख अभिभारा विश्वविद्यालयकै हुन्छ भन्ने कुरा पनि यहाँहरूलार्इ स्मरण गराइरहनुपर्ने विषय पक्कै पनि होइन होला । त्यसमा पनि संविधानमै समाजबाद स्थापना गर्ने लक्ष्य किटान गरेर सम्बृद्ध नेपाल निर्माणमा होमिने प्रतिबद्धता व्यक्त गर्नुभएका यहाँहरूलार्इ शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता सम्बोधन गर्नु नै समाजबादको बलियो जग बसाउनु हो भन्ने ध्रुव सत्य कुरामा कुनै भ्रम हुने कुरै भएन । फेरि समाजबादी वा पुँजीबादी नै किन नहोस् कुनै पनि विकसित मुलुकले शिक्षा क्षेत्रमा नै सबभन्दा बढि लगानी गरी सम्बृद्धिको यात्रा तय गरेको कुरा यहाँहरूलार्इ भन्दा बढि हामी जनतालार्इ थाहा छ भन्दा त झन् दुनियाँले पत्याउने कुरा पनि भएन ।

निन्दनीय व्यवहार

हरेक व्यक्तिका मन मस्तिष्कको पनि गहिराइसम्म चुर्लुम्म डुवेर मस्तिष्कका कुनाकुनासम्म सहजै डुबुल्की मार्दै संसार बदल्न सक्ने वा दुनियाँलार्इ चकित बनाउँदै एउटा अकल्पनीय चमत्कार गर्न सक्ने शक्ति उजागर गरेर मानव मस्तिष्कमा  अनेक तरंग र झंकार उत्पन्न गर्ने त्यो अद्भुत क्षमता शिक्षा बाहेक अरू केमा पो हुन्छ होला र ? त्यस्तो अद्भुत क्षमता बोकेको शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यले सरकारले ठूलो लगानी गरेका सरस्वतीका मन्दिरमा आज मुठ्ठीभर लक्ष्मीभक्तहरूले नग्न नाच प्रदर्शन गरेर सरस्वतीको मर्ममै प्रहार गरिरहेका छन् । तिनै अद्भुत क्षमताकि धनी सरस्वतीको प्रतिनिधित्व गर्ने पूर्वी नेपालकै शैक्षिक धरोहर मरब क्याम्पस, इलाम पनि आज तिनै निर्दयी लक्ष्मीभक्तहरूको नराम्रो घेराबन्दीमा परेकि छिन् । उनी प्रशवपीडाले थलिएर मृत्युशैयामा छट्पटाइरहँदा पनि ती निर्दयी लक्ष्मीभक्तहरूले सरस्वतीलार्इ अत्यन्त निर्मम ढंगले सामुहिक बलात्कार गरिरहेका छन् । उनको आलो घाउमा नुनचुक गरिरहेका छन् । जागिर, जग्गा, पद र पैसा जस्ता घोर अप्राज्ञिक मुद्दा उछालेर मरब क्याम्पस, इलामको मर्ममै प्रहार गर्न तपाइहरूकै दलका यो वा त्यो गुट न्वारनदेखिको बल निकालेर किन लागेका ?  भनी विभिन्न सञ्चार माध्यम वा सामाजिक सञ्जाल मार्फत इलामेली जनताले दिनहुँजसो खवरदारी गरेका गरेकै छन् । मरब क्याम्पस परिवारका अधिकांस सदस्यलार्इ समेत गुम्राहामा राखेर उनीहरू मरब क्याम्पसको प्रशवपीडालार्इ चरम मनोरञ्जनको विषय बनाउने जस्तो घोर निन्दनीय एवं आपत्तिजनक व्यवहार प्रदर्शन गरिरहेका छन् ।

झिनो आशा

पूर्वी नेपालमा महत्वपूर्ण शैक्षिक योगदान पुर्याउन सक्ने र इलामको व्यापार व्यवशायमा विशेष चहल पहल ल्यार्इ इलामे जनताको आर्थिक उन्नतिमा अकल्पनीय परिवर्तन ल्याउन सक्ने प्रवल सम्भावना बोकेको म.र.ब. क्याम्पस, इलाम आज जोकोहीले पत्याउनै नसक्ने यस्तो गम्भीर समस्याले पूरै थलिएकि छिन् । त्यसमा पनि सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा सहित मुलुकका अधिकांस क्षेत्रमा एक छत्र शासन सत्ता सम्हालिरहेको दलकै प्राध्यापक हावी मरब क्याम्पसका प्राध्यापक केवल पदीय र आर्थिक लाभकै लागि एक अर्कामा छिनाझम्टी गर्दैछन् भन्ने जस्तो घोर अप्राज्ञिक शन्देश प्रवाह भइदिदा क्याम्पसमा स्वाभिमानपूर्वक प्राज्ञिक गतिविधिमा रमाउन चाहने प्राध्यापकलाइ समेत समाजमा मुख देखाएर हिड्न लाज लाग्ने अवस्था सिर्जना भएको छ । परिस्थिति यति गम्भीर बनिसक्दा पनि यो वा त्यो विवादमा मुछिएका निकै जिम्मेवार भनिएका व्यक्तिहरू कानमा तेल हालेर केहि पनि नभए झैं गरी बसेको देख्दा निकै आश्चर्य समेत लागेर आउँछ । क्याम्पसको शैक्षिक वातावरण धमिल्याएर निहित स्वार्थ पूरा गर्न तम्सिएकाहरूको यस्तो गैरजिम्मेवारपूर्ण व्यवहारले क्याम्पसको थप बेइज्जत हुने बाहेक अन्य उपलब्धी हातमा लाग्यो शुन्य नै हुने निश्चितप्रायः छ । मरब क्याम्पस, इलाम यसरी लक्ष्मीभक्त लोभीपापीको फन्दामा नराम्ररी फसेका बखत सम्बृद्ध नेपालको सारथी बनेर यहाँहरू इलाम आउनुहुने खवर सुनिएको छ । यहि अवसरमा तपार्इहरू भूतपूर्व प्रधानमन्त्रीद्धय तथा सभामुखले मरब क्याम्पस, इलाममा तत्काल देखिएका निम्न तिन मुद्दालार्इ किनारा लगाउने वातावरण बनार्इ कठीन प्रशवपीडाले थलिएकि मरबको प्राण जोगाइदिन आवश्यक पहल गरिदिनुहुन्थ्यो कि भन्ने झिनो आशासहित एक नेपाली नागरिकको हैसियतले यो खुला पत्र लेखेको व्यहोरा हार्दिक अनुरोध गर्दछु ।

निराशाको पारो

सम्बृद्ध नेपाल र सुखी नेपालीको अभियानमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने पूर्वी नेपालको शैक्षिक धरोहरमा उत्पन्न समस्या यहाँहरूको पहलमा तार्किक निशकर्षमा पुग्न सक्यो भने मुलुकभरका सरकारी शिक्षण संस्थाका प्राध्यापक, कर्मचारी र विद्यार्थीका मन मस्तिष्कमा चढ्दै गएको निराशाको पारो ओरालो लाग्ने सम्भावना अलिकति नै मात्र भएपनि बढ्थ्यो कि ? सम्बृद्ध नेपाल निर्माण गर्न सक्ने प्रवल सम्भावना बोकेका होनाहार युवावर्गलार्इ मरब क्याम्पस, इलामले गुणस्तरीय शिक्षा प्रदान गरेर क्याम्पसलार्इ एक प्राज्ञिक मुल्य मान्यताले लैस शैक्षिक संस्थामा बदल्न सक्ने वातावरण पो तै बनिहाल्थ्यो कि ? मरब क्याम्पसकै स्ववियू सभापति भएर राजनीतिक यात्रा तय गर्नु भएका पूर्व सभामुखज्यूले चारतिर फर्केका दल र प्रवृत्तिलार्इ त एक एकजुट बनाएर गणतान्त्रिक संविधान घोषणा गर्न सक्नु भयो । त्यसरी संविधान घोषणा गर्ने क्रममा प्रचण्डज्यूको त झन् निर्णायक भुमिका थियो भनेर तपाइहरू नै भन्दैहुनुहुन्छ । ती सबै नेतालाइ एकताबद्ध गर्नमा झलानाथ खनालज्यूको भुमिका वहाँहरू दुवैजनाको भन्दा कम पक्कै पनि थिएन होला । यसरी चरम राजनीतिक संक्रमणबाट गुज्रिरहेको सिङ्गो मुलुकलाइ त एउटा सहज निकास दिएको दावी गर्ने तपाइहरू तिनैजना इलाम आउनु भएका बखत विश्वविद्यालयलाइ हेर्ने तपाइहरूको वास्तविक चस्मा चाहिँ कस्तो रहेछ भनी इलामेली जनताले निकै चनाखोपूर्वक नियालिरहेका छन् । प्रशवपीडाले थलिएकि मरब क्याम्पस, इलामले यहाँहरूको इलाम आगमनसँगै केही राहत पक्कै पाउलिन भनेर धेरैले कान ठाडा पारेर बसे जस्तो लाग्छ । मरब क्याम्पस, इलामलार्इ यहाँहरूकै दलका यो वा त्यो गुटको क्रीडास्थल बनाउने भन्दा पनि क्याम्पसलार्इ एक प्राज्ञिक थलोमा बदल्न यहाँहरूको विशेष पहल हुन्थ्यो कि भन्ने झिनो अपेक्षासहित यो खुला पत्र मार्फत यहाँहरू तिनैजनाको गम्भीर ध्यानाकर्षण गर्न खोजिएको हो ।

प्रमुख तिन समस्या

मरब क्याम्पस, इलाममा तत्काल सम्बोधन गर्नैपर्ने प्रमुख तिन समस्या देखिएका छन् । क्याम्पसलार्इ एक प्राज्ञिक थलोका रूपमा बदल्ने वातावरण बनाउन समेत बाधक बनेका ती प्रमुख तिन समस्या यहाँहरूले कसरी सम्बोधन गर्नुहुनेछ भन्ने कुराले मरब क्याम्पसको भाग्य र भविष्य निर्धारण हुने देखिन्छ । त्यति मात्र नभएर उक्त समस्याको सम्बोधन गर्दा यहाँहरूले नेपालको समग्र उच्च शिक्षालार्इ नै कतातिर डोर्याउन चाहनुभएको रहेछ भन्ने राष्ट्रिय महत्वको शन्देश समेत प्रवाह हुने भएकाले यहाँहरूले निकै सोचविचार गरेर ती समस्याको सम्बोधन गर्नु यहाँहरू स्वयंका लागि समेत बढि हितकर हुने देखिन्छ । विशेष गरेर नेपालका विश्वविद्यालय धराशायी बनाउने प्रमुख समस्या भनेकै अनावश्यक राजनीतिक हस्तक्षेप र अपारदर्शी आर्थिक चलखेल नै हुन् भन्ने कुरामा अब कसैलार्इ पनि कुनै भ्रम बाँकी छैन होला । हाल मरब क्याम्पस, इलाममा देखिएको समस्याको जड पनि मुलतः यिनै दुर्इ कारण नै हुन् भन्ने कुरामा कमसेकम इलामेली जनतालार्इ कुनै भ्रम छ जस्तो लाग्दैन । इलामेली जनताको यो निश्कर्षको उच्च सम्मान गर्न नेतात्रयले कुनै कसर बाँकी राख्नु हुन्न होला भन्ने इलामेली जनताको अपेक्षा छ । झन् नेपालमा बहुदल आएदेखि निरन्तर रूपमा इलामेली जनताको प्रतिनिधित्व गर्दै आउनुभएका भूतपूर्व प्रधानमन्त्री झलानाथ खनाल र सभामुख सुवासचन्द्र नेम्बाङका लागि त यो मुद्दा थप मननीय छ जस्तो लाग्छ । मरब क्याम्पस, इलामको भाग्य र भविष्यसँग जोडिएका र बढि चर्चामा रहेका तत्काल सम्बोधन गर्नैपर्ने त्यस्ता पेचिला तिन प्रमुख मुद्दा निम्नानुसार रहेको व्यहोरा हार्दिक अनुरोध गर्न चाहन्छु ।

  • जागिरबारे

अमुक व्यक्तिलार्इ जागिर ख्वाउने सवालमै क्याम्पस प्रमुखलार्इ अनावश्यक दवाव दिएकैले वर्तमान समस्या उत्पन्न भएको हो भन्ने सवाल विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक रूपमा छाएको छ । यदि यो कुरा सत्य नै हो भने यसरी दवावका भरमा अमुक व्यक्तिलाइ जागिर खुवाँउदै जाँदा क्याम्पसको शाख, मर्यादा, इज्जत र प्रतिष्ठा कायम गर्न सकिन्छ कि सकिदैन ? अझ त्यो भन्दा पनि गम्भीर कुरा त विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा जागिर खाने निश्चित विधि र प्रकृया हुँदाहुँदै ती बिधि र प्रकृयालार्इ मिचेर जागिर ख्वाउन दवाव दिइन्छ भने त्यो भन्दा घोर अलोकतान्त्रिक रबैया अरू के हुन्छ ? यी र यस्ता पेचिला प्रश्नका बारेमा स्पष्ट हुनैपर्ने ठोस परिस्थिति पैदा भएको छ ।

  • जग्गाबारे

क्याम्पसले निकै सस्तो मुल्यमा खरिद गर्न लागेको जग्गा व्यक्तिगत रूपमा नाफा कुम्ल्याउने बद्नियतका साथ अमुक व्यक्ति वा समुहले सस्तो मुल्यमा खरिद गरेर पुनः ती व्यक्ति वा समुहले खरीद गरे भन्दा धेरै नै चर्को मुल्यमा त्यही जग्गा किन्न क्याम्पसलार्इ दवाव दिदा पछिल्लो समस्या उत्पन्न भएको भन्ने अर्को सनसनीपूर्ण कुराले बजार पूरै तातेको छ । यदि यो कुरामा अलिकति मात्र सत्यता छ भने क्याम्पसलाइ आर्थिक रूपमा धराशायी बनाउने यो भन्दा जघन्य अपराध अरू के हुन सक्छ ? यति गम्भीर सवालमा सत्यतथ्य सार्वजनिक गर्न यो सवालसँग जोडिएका व्यक्ति वा समुह स्वयं अग्रसर बन्नु पर्छ कि पर्दैन ? भन्ने जस्ता प्रश्नको चित्तबुझ्दो जवाफ इलामेली जनतालार्इ तत्काल चाहिएको छ ।

  • सेवा सुविधाबारे

क्याम्पस सञ्चालक समितिका अध्यक्ष काठमाण्डौमा बस्ने र वहाँलार्इ समितिको बैठकमा भाग लिन इलाम आउँदा र काठमाण्डौ फर्कदा उपलब्ध हुने आर्थिक सुविधा क्याम्पस प्रमुखज्यूले कटौति गर्नु समस्या उत्पन्न हुनुको तेश्रो प्रमुख कारण हो भन्ने कुरा सञ्चार माध्यममा पढ्न पाइयो । यदि त्रिवि नियमानुसार सहजै प्राप्त हुने त्यस्तो सेवा सुविधा कटौती भएकै हो भने लोकतान्त्रिक विधि, प्रकृया र पद्धतीमा टेक्दै आदरणीय अध्यक्षज्यूले कानुनी उपचार खोज्दा पनि त हुन्थ्यो होला नि भन्ने जनमत पनि निकै बलियो देखिन्छ । त्यस्तो लोकतान्त्रिक बिधि अपनाउन छाडेर केवल गाडी भाडा वा भत्ताकै लागि क्याम्पस प्रमुखलार्इ राजीनामा दिन अनावश्यक दवाव दिदा क्याम्पसको मात्र नभएर स्वयं अध्यक्षज्यूकै कद समेत घट्यो कि भनेर चिन्ता प्रकट गर्ने जमात पनि सानो छ जस्तो लाग्दैन । अझ अध्यक्षज्यूलार्इ काठमाण्डौबाट आवतजावत गर्न आर्थिक संकट नै परेको हो र त्यस्तो संकट टार्न क्याम्पसलार्इ समेत हम्मे परेको हो भने विधि प्रकृया बमोजिम अध्यक्षज्यू र क्याम्पस दुवैको हित हुने गरी अध्यक्षज्यूको विकल्प खोज्दा पनि त हुन्छ होला नि भन्ने स्वरहरू पनि निकै गुञ्जन थालेका छन् । कलकलाउँदो युवा उमेरमै लगभग छ बर्ष क्याम्पस प्रमुख भएर मरब क्याम्पस इलामको सेवा गरिसक्नासाथ तत्काल विद्यावारिधि जस्तो उच्च अध्ययनका लागि बिदामा रहनुभएका आदरणीय अध्यक्षज्यूलार्इ यसरी अनावश्यक मानसिक तनाव हुने वातावरण बन्नु अर्को प्राज्ञिक क्षति हो भन्ने जनमत पनि कम बलियो देखिदैन ।

निश्कर्ष

यी तिन सवालमा स्पष्ट भएपछिमात्र क्याम्पसलार्इ भविष्यमा कता लैजाने भन्ने सवालमा स्वस्थ ढंगले बहस गर्ने मार्ग प्रशस्त हुने सम्भावना देखिन्छ । स्वस्थ ढंगले प्राज्ञिक वहस गरेर एउटा तार्किक निश्कर्षमा पुगी क्याम्पसलार्इ सही दिशा प्रदान गर्ने सवालमा यस्ता बद्नियतपूर्ण विवाद प्रमुख बाधक बन्ने देखिन्छ । साँच्चै मरब क्याम्पस, इलामको अस्तित्व संकटमा पार्ने बद्नियतकासाथ जानाजान यस्ता विवाद खडा गर्नु नै डबल नेकपाको उद्देश्य हो भने त भन्नु केहि छैन । यदि त्यसै हो भने त्यस्ता बद्नियतपूर्ण कुकर्मको सहि हिसाबकिताव त वलवान समयले नै गर्ला । होइन, क्याम्पसलार्इ एउटा प्राज्ञिक थलोका रूपमा स्थापित गरेरै छाड्नु पर्छ भन्ने कुरा आदरणीय भूतपूर्व प्रधानमन्त्रीद्धय तथा सभामुखज्यूलार्इ मनैदेखि अनुभुति भएको छ भने तत्काल यी विवाद सुल्झाएर क्याम्पसको प्राज्ञिक यात्राका लागि मार्ग प्रशस्त गर्न यहाँहरूको निर्णायक भुमिका रहोस् भन्ने कुरामा यहि खुला पत्र मार्फत यहाँहरूको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । यो खुला पत्रको मुल आशय शैक्षिक संस्थामा हावी अनावश्यक राजनीतिक हस्तक्षेप र अपारदर्शी आर्थिक चलखेल अन्त्य गरेरै सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सकिनेछ भन्नु भन्दा बाहेक अरू केहि पनि नरहेको व्यहोरा समेत विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । खुला पत्रको यहि मुल मर्म र भावनाको उच्च कदर गरी पत्र लेख्ने क्रममा कहिँ कतै कुनै त्रुटी भएमा आदरणीय व्यक्तित्वत्रयले क्षमा गर्नु नै हुनेछ भन्ने आशाका साथ बिदा हुन चाहन्छु । धन्यबाद् ।

उही इलामे नागरिक

अरूण नेपाल

इलाम नगरपालिका ७, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार