आर्थिक अभावका कारण १० वर्षदेखि बालक खोरमा (हेर्नुहोस् भिडियो सहित)

सहयोगका लागि परिवारको अपिल

  राम योङहाङ  230 पटक हेरिएको

आर्थिक अभावमा १० वर्षदेखि थुनिएका मोहनप्रसाद गिरी ।

इलाम : कच्ची सडक छेउमा सानो घर । वरिपरि बाँसले बारिएको । बाहिरबाट ढोका बन्द गरिएको । भित्रबाट कसैले सहारा मागिरहेको आवाज सुनिन्छ । झट्ट सुन्दा अचम्म लाग्छ तर यथार्थ हो ।

यो दृश्य इलामका माई नगरपालिका–१ दानाबारी पालटारको हो । त्यहाँ एक बालकलाई घरमै थुनेर राखिएको छ । सानै उमेरमा मानसिक समस्या देखापरेपछि १५ वर्षीय मोहनप्रसाद गिरी कोठामा थुनिन बाध्य छन् । एक दि नमात्र होइन, यसरी थुनिएको १० वर्ष भयो । उपचारका लागि परिवारसँग आर्थिक स्रोत नभएकै कारण अवोध बालक बन्द कोठामा थुनिन बाध्य छन् ।

बालक दिसापिसाब पनि बस्ने ठाउँमा नै गर्छन् । शरीर ढाक्ने गरी कपडासमेत लगाउँदैनन् । (तस्बिर लिनकै लागि हामीले उनको शरीरमा कपडा लगाएका थियौँ) अभिभावकले कपडा लगाइदिए पनि तुरुन्तै च्यात्छन् र फुकाल्छन् । प्रायः कराउने र रुने गर्छन् । खानेकुरासमेत अभिभावकले खुवाइदिनुपर्छ । चिसो भुइँमा बस्ने र सुत्ने उनको दैनिकी नै बनेको छ । मानसिक रोगले ग्रसित गिरी सानैदेखि शरीरबाट कपडासमेत फुकालेर घर छाड्ने गरेपछि थुनेर राख्नुपरेको परिवारले जनाएको छ ।

बालकका बाबु उमाराम गिरी दैनिकी गुजार्न मेलापात धाउँछन् । उमारामका अनुसार चार वर्षदेखि नै मोहनमा असामान्य व्यवहार देखापर्न थालेको थियो । ‘सुरुमा टोलाउने, नबोल्ने गर्दागर्दै घरी हाँस्ने र घरी रुने गर्दथ्यो । पछि ठूलो हुँदै गएपछि त घरै छाडेर हिँड्न थाल्यो’, बालकका बाबु उमारामले नयाँ बुलन्दसँग भने, ‘मानसिक समस्याले यस्तो भएको थाहा त भयो । तर, उपचार गर्ने पैसा नभएपछि बिरामले झन्–झन् च्याप्दै गयो । उपचार गर्न नसकेपछि अन्ततः थुनेर राख्नुको विकल्प भएन ।’

अहिले ती बालकको एक पाटो शरीर नै चल्न छाडेको छ । सधैँ कोठामा थुनेर राखिएका बालकको अन्य समस्यासमेत थपिन थालेपछि उनका बाबु उमाराम चिन्तित छन् । आर्थिक अवस्थाकै कारण अहिलेसम्म सामान्य अपस्ताल पनि लगेका छैनन् ।

कुनै संघसंस्थाले छोराको उपचारमा सहयोग गर्ने आशमा बसेका उमाराम पछिल्लो समय निराशसमेत बनेका छन् । छोराको उपचारका लागि माई नगरपालिकालाई हारगुहार गरे पनि सुनुवाई नभएको उनको गुनासो छ । ‘छोराको उपचार भए अझै निको हुन्छ भन्ने लाग्छ । तर, पैसा नभएकै कारण हालसम्म कुनै अस्पताल लगेको छैन । नगरपालिकाले केही सहयोग गर्छ भन्ने सुनेर निवेदन दिएको थिएँ ।

तर, कुनै सुनुवाइ भएन’, उमारामले भने, ‘पैसा भएको भए छोरा यसरी खोरमा बस्नुपर्ने थिएन । तपाईंहरूले सहयोगका लागि अपिल गरिदिनुप¥यो ।’ उपचारका लागि अस्पताल लैजान पैसा जुटाउन नसकेपछि यस्तो समस्या आएको उमारामको भनाइ छ । मेलापातबाट दैनिकी चलेको गिरी परिवारको बासका लागि एउटा सानो घर मात्र रहको छ ।

छाक टार्नकै लागि बाल मोहनप्रसादका आमा टंकमाया गिरी विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि जोर्डन छिन् । उनले पठाएको पैसाले गिरीको गुजारा चल्दै आएको छ । तर, छोराको उपचारमा भने पर्याप्तता छैन । उमारामलाई छोराको अवस्थाले ठूलो चोट परेको छ । एक त घरको अवस्था कमजोर अर्को छोराको यस्तो अवस्था । आशलाग्दो जेठो छोरो नै यसरी खोरमा थुनेर राख्नुपरेपछि उमाराम वेलावेला भक्कान्छिन् ।

उनका छिमेकी भूपा गिरी, रामबहादुर मगर मोहनको उपचार गरे नयाँ जीवन पाउने बताउँछन् । उनीहरू नयाँ बुलन्दसँग भन्छन्, ‘उसको घरको अवस्थाका कारण उपचार सम्भव छैन । हामी सबै मिलेर उसको उपचार गरिदिनुपर्छ । त्यसका लागि सबैलाई अपिल गर्दछौँ ।’

पत्नी विदेश गएपछि मोहनको स्याहारसुसारको जिम्मा बुबा उमारामको रहेको छ । उपचार नपाउँदा र खोरमा थुनिएर बस्नुपर्दा मोहनप्रसादको मानवीय चेतनासमेत गुम्दै गएको छ । गिरी परिवारले उपचारका लागि त्यस्तो कुनै सहयोगी संघसंस्था वा निकाय भए सहयोग गरिदिन अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार