विकासको पर्खाइमा पर्यटकीय स्थल सन्दकपुर

  विविसी हाङखिम  135 पटक हेरिएको

इलाम : पर्यटकीय गन्तव्यको प्रमुख आकर्षण मानिएको इलामको सन्दकपुरमा खानेपानी र विद्युत नहुँदा पर्यटक र त्यहाँका होटल व्यवसायीले सास्ती बेहोर्नुपरेको  छ ।

होटल व्यवसायीले करिब ५० किलोमिटर तल माईखोलाबाट प्रतिलिटर १ रुपैयाँ भारु तिरेर किनेको पानीले व्यवसाय संचालन गरिरहेको शेर्पा च्यालेट होटलका प्रोपाइटर डन्डु शेर्पा बताउँछन् । माइखोलाको शीर रहेको सन्दकपुरका मन्दिरहरु समेत उचित संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छन् । यसको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान नपुगेको शेर्पा बताउँछन् ।

यता सन्दकपुरको विकासका लागि गाउँपालिका लागिपरेको प्रवक्ता समेत रहेका वडा नम्बर २ का अध्यक्ष गिरीराज खनाल बताउँछन् । खनालका अनुसार २ महिनाभित्र सन्दकपुरको शीरमा विद्युत समेत पुग्नेछ । ‘अहिले २ नम्बर वडा कार्यालयसम्म विद्युत विस्तार भइसकेको  छ । त्यहाँबाट सन्दकपुरसम्मको लागि नेपाल प्राधिकरण इलाम र गाउँपालिकाको संयोजनमा ३ सयवटा पोलहरु इलाम आइसकेका छन्’ खनालले भने ।

यता खानेपानीको व्यवस्थापनका लागि माइखोलाको शीर सन्दकपुरको छेउमा उम्रेको पानीलाइ ड्याम बनाएर पम्पिङ सिस्टमद्वारा सन्दकपुरको टपमा पुर्याउने तयारी भइरहेको छ ।

सन्दकपुरको भौतिक विकासका लागि प्रदेश सरकारको १ करोड लगानीमा सुर्योदय र सुर्यास्तको दृष्यावलोकन गर्न पिक प्वाइन्टमा स्टेन्टहरु बनाउने, चारैतिरबाट सन्दकपुर पुग्नका लागि ट्र्याकिङ रोड, कालापोखरीबाट सन्दकपुर सम्मको केवलकारको सम्भाब्यता अध्ययनको काम भइसकेको र सर्भे गर्ने काम बाँकी रहेको प्रवक्ता खनाल बताउँछन् ।

सन्दकपुर समुन्द्री सतहबाट ३ हजार ६ सय ३६ मिटरको उचाईमा अवस्थित छ । यहाँबाट सुर्योदय र सूर्यस्तको दृश्यावलोकन समेत गर्न सकिन्छ । सन्दकपुर घुम्न वार्षिक ५० देखि ६० हजार पर्यटकहरु आएने गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटहरु आउने गरेका छन् । यसक साथै जापान, जर्मन, इङ्ग्ल्याण्ड, अमेरिका, फ्रान्स, स्पेनलगायत मुलुकबाट समेत आउने गरेको सनराइज होटेल एन्ड लजका प्रोपाइटर छिरिङ तन्डु शेर्पाले बताए । गर्मी मौसमभन्दा चिसो मौसम नै सफा र स्पष्ट हुने भएकाले सूर्योदय र हिमश्रीङ्खलाहरुको अवलोकन गर्न चिसो मौसम नै उपयुक्त हुने उनी बताउँछन् ।

नेपाल र भारतको सीमानामा रहेको सन्दकपुर इलाम सदरमुकामबाट बिब्ल्याँटे, माइपोखरी, देउराली बजारबाट माइमझुवाको बुधबारे हटियादेखि सिरियाङ्जिबाट कालापोखरी बिखेभन्ज्याङ हुँदै पुग्न सकिन्छ ।

नेपाली भूमिमा भने धुले मोटरेबल र भारतीय भूमिमा भने सोलिङ र गोलाइमा भने सिमेन्ट ढलाइ गरेको मोटरेबल बाटोबाट सन्दकपुर पुगिन्छ । इलामको पशुपतिनगरदेखि तुम्लिङ, मेग्माबाट मानेभञ्ज्याङ हुदैपनी सन्दक्पुर पुग्न सकिन्छ । सन्दकपुरबाट नेपालका इलाम, पाँचथर, झापा, मोरङ, ताप्लेजुङ र भारतका दार्जीलिङ सिक्किम, सुनादह, कर्साङ, मिरिक, टिस्टाआदि भुभागहरु देख्न सकिन्छ । त्यसैगरी विश्वको सर्बोच्च शिखर सगरमाथा, कुम्भकर्ण नुप्ट्से, ल्होट्से मकालु, कन्चनजङ्गा र भुटानको छोमोलरी आदि हिमशृङखलाहरुको दृश्यहरु हेर्न सकिन्छ ।

फागुनदेखि वैशाखसम्म विभिन्न रङ्का ढकमक्क गुराँस फुलेर मनै फुरुङ हुने गर्दछ । नेपाल र भारतीय सिमाना कालापोखरीमा कुनैपनि किसिमको हालसम्म घट्ना नभएको, शान्ति सुरक्षा नै महसुस गरेको त्यँहा रहेको अस्थाई प्रहरी पोस्टका असइ अजय देबप्रसाद श्रेष्ठ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार