संसदीय निर्वाचनको झल्को दिने उद्योग वाणिज्य संघको निर्वाचन (भिडियो सहित)

८५ प्रतिशत मत खस्यो

  राम योङहाङ  208 पटक हेरिएको


इलाम : प्राय साँगीतिक कार्यक्रम मात्र आयोजना हुने इलाम सदरमुकामको गौतम बुद्ध सभागृह (सिटी हल) मा शनिबार छुट्टै रौनकता थियो । विहानैदेखि मानिसहरुको बढ्दो चहल पहलसँगै उम्मेद्वार र मतदाताको प्लेकार्डले सिटिहलको रौनकता बेग्लै देखिन्थ्यो । आवजावतमा नै समस्या हुने गरिको भीडभाड र सवारी साधनको चाप उस्तै थियो ।

सत्तापक्ष र प्रतिपक्ष दलको प्रदेश तथा जिल्लास्तरीय नेतादेखि भादृ संगठनका नेताहरुको बाक्लो उपस्थितीले माहोल तातिएको थियो । ठाउँठाउँमा बसेका समूहबाट प्रत्येक व्यक्तिलाई पोष्टर, प्लेकार्ड, पम्प्लेट र भिजिटिङ कार्ड वितरणको दृश्य शनिबार दिनभर जारी रह्यो । यो दृश्यले लाग्थ्यो त्यस क्षेत्रमा कुनै संसदीय निर्वाचन नै हुँदैछ । दलका नेता र विद्यार्थी संगठनका नेताको उपस्थितीले त्यस्तो लाग्न स्वभाविक पनि हो ।

तर त्यो कुनै संसदीय निर्वाचन नभएर इलामको उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन थियो । संघको आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि शनिबार निर्वाचन भएको छ ।

विहान ८ वजेदेखी सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । मतदानमा ८५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत तीर्थ खतिवडाले जानकारी दिए । एक हजार २ सय ५७ मतदातामध्ये १ हजार ६८ मत खसेको थियो ।

मतगणना समेत सोहि ठाउँमा साँझ ७ बजेदेखि हुनेछ । अन्तिम मतपरिणाम आइतबार विहानसम्म लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि गाउँगाउँबाट व्यवसायीहरु सदरमुकाम आएका थिए । उनीहरुलाई पार्टीगत रुपमा नै आवतजावतका लागि चारपाङ्ग्रे सवारी तथा खाना र बासका लागि होटलको समेत व्यवस्था समेत गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकटका उद्योगी व्यवसायीहरु छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । नेकपा निकट व्यवसायीले देवेन्द्र शंकरको नेतृत्वमा ‘प्रगतिशील तथा समावेशी प्यालन’ र पतिपक्षी कांग्रेस निकट व्यवसायीले इश्वर चिपालूको नेतृत्वमा ‘लोकतान्त्रिक प्यानल’ खडा गरी चुनावी मैदानमा उत्रिएका थिए । शंकर संघका निवर्तमान कोषाध्यक्ष हुन् भने चिपालू वरिष्ठ उपाध्यक्ष हुन् ।

१६ पदका लागि दुवै प्यानलबाट ३१ जनाले प्रतिष्पर्धा गरेका छन् । ‘प्रगतिशील तथा समावेशी प्यालन’ का उम्मेद्वार लालबहादुर दिम्बूको उम्मेद्वारी रद्ध भएपछि १५ जनामा सीमित भएको थियो भने ‘प्रगतिशील तथा समावेशी प्यालन’ का सबै पदमा उम्मेद्वार थिए ।

शंकर नेतृत्वको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा भक्तबहादुर लुङ्गेली, वाणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रविण श्रेष्ठ, महिला उपाध्यक्षमा कमला बाँस्कोटा, महासचिव प्रकाश चापागाइ, सचिव केशव खनाल र कोषाध्यक्ष दिव्या भट्टराई चुनावी मैदानमा छन् । खुल्ला सदस्यमा रेशम बराइली, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल र चन्द्रबहादुर निरौला (मदन) तथा महिला सदस्यमा कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा (पराजुली) चुनावी मैदानमा छन् ।

उता चिपालूको नेतृत्वको प्यानलमा वरिष्ट उपाध्यक्षमा कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराज चुनावी मैदानमा छन् । खुल्ला सदस्यमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास तथा महिला सदस्यमा खिना बस्नेत, देवी निरौला र दिपा गुरुङ चुनावी मैदानमा छन् ।

दुवै टिमले आफ्नो प्यानल नै विजयी बन्ने दावी गर्दै आएका छन् ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार