मोटरबाटो निर्माणका लागि अध्यक्ष श्रेष्ठद्वारा दुई लाख सहयोग

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि दुई लाख प्रदान गरेका छन् ।

स्वर्गीय बुबा नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी, सासु मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले उक्त खर्चमा मोटरबाट निर्माण गरिदिएका हुन् ।

मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भईरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले दुई लाख लगानीमा मोटरबाट निर्माण गरिदिएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिएका थिए ।

पर्यटकीयस्थलको रूपमा चिनिएको यस मन्दिरमा पुजाआजा गर्न एकतप्पा, फाकफोक, आमचोक, लुम्दे, फूएतप्पा, गजुरमुखीलगायतबाट श्रद्धालु तथा भक्तजन आउने गरेका छन् । फागुन १४ गते प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो (मौसम), प्रदेश सांसद धीरेन्द्र शर्मा (रमण) लगायतले मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार