भ्यालेन्टाइनलाई चिट्ठी (कविता)

  युविर चेम्जोङ
0 Shares

प्रिय भ्यालेन्टाईन
आजकै दिनमा हो
तिम्रो मृत्युको रङ्गले
प्रेमको एउटा परिभाषा लेखेको ।
तर एतिबेला
तिम्रौ स्मृतिमा
प्रेमको नाममा व्यापार चलिराछ ।
प्रेम सर्तमा छ,
प्रेम आकर्षणमा छ,
प्रेम सम्बन्धको बन्धनमा कैद छ ।
आउ भ्यालेन्टाईन प्रेम बुझाईदेउ
लिएर पुनर्जन्म ।

यहाँ, प्रियतमले प्रेम गर्छ प्रियतमालाई
प्रेम पाउने आशामा,
प्रियतमाले प्रेम गर्छ प्रियतमलाई
प्रेम पाउने आशामा
जस्तो कि दुई माग्नेहरु मागिराछन
एकले अर्कोलाई
भनिदेउ भ्यालेन्टाईन
पे्रम एस्तो चिज हो
जो आफुमा घटित भएर मात्र
दिन सकिन्छ अरुलाई
र त प्रेम
दिमागमा होइन हृदयमा हुन्छ,
विचारमा होइन भावनमा हुन्छ,
सम्बन्धमा होइन स्वतन्त्रतामा हुन्छ ।
आउ भ्यालेटाईन प्रेम बुझाईदेउ ।

प्रेम जुन जस्तै हो
जसले उज्यालो दिएकोमा माग्दैन केहि
उज्यालो दिनमा नतमस्तक रहन्छ
प्रेम वृक्ष जस्तै हो
जसले फल दिएकोमा माग्दैन केहि
फल दिनमा नतमस्तक रहन्छ
प्रेम फुल जस्तै हो
जसले फुलिदिएकोमा माग्दैन केहि
फुलिदिनमा नतमस्तक रहन्छ
त्यसैले भनिदेउ भ्यालेन्टाइन
प्रेमको माने दिनु हो,
प्रेमको माने त्याग्नु हो,
आउ भ्यालेन्टाईन प्रेम बुझाइदेउ ।

प्रेम अन्धो हुन्छ
जस्तो कि यो जो सँग पनि बस्न सक्छ
प्रेम अन्धो हुँदैन
जस्तो कि
यसले तेस्तो चिजहरुपनि देख्न सक्छ
जसलाई आँखाले देख्नै सक्दैन
प्रेम हावा जस्तै हो
न त एसलाइ देख्न सकिन्छ
न त छुन नै
तर पनि यो अपरिहार्य छ
प्रेम
छ र त जीवन छ
त्यसैले भनिदेउ भ्यालेन्टाइन
प्रेम ईश्वर हो
आउ भ्यालेन्टाईन प्रेम बुझाइदेउ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार