गजुरमुखीदेखि पटेटार-जोगीडाँडा हुँदै फुलुङ्गी जोड्ने दुई किलोमिटर सडक निर्माण

  नयाँ बुलन्द  375 पटक हेरिएको

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा निर्माणाधीन गजुरमुखी पटेटार जोगीडाँडा मालबाँसे फुलुङ्गी सडकको करिब दुई किलोमिटर सडक खण्ड निर्माण सम्पन्न भएको छ ।

वडा नम्बर १ गजुरमुखीदेखि वडा नम्बर २ को पटेटार, जागीडाँडा, मालबाँसे हुँदै वडा नम्बर ३ फुलुङ्गीसम्म जोड्ने निर्माणाधीन सडक अन्तरगत वडा नम्बर २ मा पर्ने चारसुरे छेउदेखि जोगीडाँडाको लिङ्गेपिङ पुच्छार जमुनेसम्म सडक निर्माण सम्पन्न भएको हो ।

माङसेबुङ गाउँपालिकाको पाँच लाख र स्थानीयको एक लाख १० हजार एक सय ८० बराबरको जनश्रमदान गरी छ लाख १० हजार एक सय ८० रुपैयाँको लागतमा बाटो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष करनवीर लिम्बूले जानकारी दिए ।

स्काभेटर प्रयोग गरेर माटो कटिङको काम गरिएको थियो भने स्थानीय ज्यामी र श्रमदानबाट पर्खाल लगाउने, अस्थायी नाली निर्माण, पानी कटाउने, हम्स बनाउनेलगायतको काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।

गाउँबाट नजिकका क्षेत्रमा यातायातको सुविधा भएपनि आफ्नो गाउँमा बाटो नभएका कारण उत्पादित कृषिजन्य बस्तु ओसारप्रसार गर्न र भैपरी आउने दुःख विराम पर्दा समेत डोको र स्टेचरकै भरमा जिउनुपर्ने बाध्यता खेप्दै आएका त्यहाँका बासीन्दा त्यस्तो बाध्यताबाट मुक्त भएका छन् ।

सो सडकलाई आगामी दिनमा मालबाँसे हुँदै निर्माणाधीन अर्को सडक राँके गैडें सडकको गजुरमुखी फुलुङ्गी सडक खण्डमासम्म जोड्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष लिम्बूले बताए । सो खण्डमा जोड्न करिब एक किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको उपभोक्ताहरु बताउँछन् ।

सडक निर्माणपछि स्थानीयलाई सहज

पहिलो पटक गाउँमा सडक पुगेपछि पटेटार, जोगीडाँडा र लिङगेपिङका बासिन्दा हर्षित भएका छन् । सडक निर्माण भएपछि पटेटार, जोगीडाँडा, लिङ्गेपिङ, मालबासे र आसपासका तीन सय बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

अहिले त्यहाँकबा बासिन्दालाई दैनिक उपभोग्य र अन्य सामग्री ढुवानी गर्न र कृषि उपजका सामग्री ओसारपसार गर्न सहज हुन थालेको छ । भौगोलिक रुपमा विकट मानिएको त्यस क्षेत्रमा सडक पुगेपछि स्थानीयले खुसीयासी समेत मनाएका छन् ।

स्थानीयको घरलौरी चन्दाबाट निर्माणको थालनी

सुरुमा स्थानीय बासिन्दाले घरलौरी चन्दा संकलन गरेर सो सडक खण्डको निर्माण सुरु गरेका थिए । नजिकैका वस्तीहरुमा यातायातको पहुँच पुगेपनि सो ठाउँमा राज्यको दृष्टि नपुगेपछि स्थानीयले आफैं सडक निर्माण गर्न थालेका थिए ।

स्थानीयको अगुवाईमा ५ वर्ष अघि घरलौरी चन्दा संकलन गरेर सडक निर्माण सुरु भएको थियो । उनीहरुले आफ्नो गाउँमा सडक पुर्याउन केही समय नियमित श्रमदान अभियान समेत संचालन गरेका थिए ।

आर्थिक अवस्थाको आधारमा श्रेणी विभाजन गरी प्रतिघर तीन हजारदेखि नौ हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको तत्कालिन सडका निर्माण समितिका अध्यक्ष चन्द्र राईले जानकारी दिए । कमजोर आर्थिक अवस्था भएका त्यहाँका धेरैले आफूसँग भएको जायजेथा बिक्री गर्नु परेको थियो । कत्तिले चर्को ब्याजमा ऋण समेत गरेर सडकमा लगानी गर्नुपरेको थियो ।

साविक इभाङ गाउँ विकास समितिबाट दुई वर्ष ५० हजारका दरले रकम विनियोजन भएपनि सडका निर्माणका लागि पर्याप्त भएन । बजेट अभावमा सडक निर्माणको काम बीचैमा अलपत्र परेको थियो ।

सडक निर्माणका लागि सम्बन्धित निकायमा पटक–पटक माग गर्दा समेत कुनै सुनुवाई नभएपछि गाउँमा नमुनाको रुपमा काम गरेर देखाउन आफूसँग भएको जायजेथा र अन्नपात समेतको बिक्री गरेर तथा ऋण समेत गरेर सडक निर्माणको थालनी गरेको राई स्मरण गर्छन् । ‘सडक निर्माणका लागि माग गर्दै गाउँ विकास समिति र जिल्ला विकास समितिमा हामी धेरै पटक गयौँ, कसैले चासो दिएन, बाटो बन्ने कुनै छाँटकाटँ पनि देखिएन । त्यसपछि गाउँबासी नै मिलेर सडक निर्माणको थालनी गरेका थियांैै’ राई भन्छन्, ‘स्थानीय सरकार आएपछि बल्ल हाम्रो माग सम्बोधन भयो ।’

स्थानीय तहको पुर्नसंरचना भएपछि भने २ नम्बर वडाको बजेट सिलिङबाट एक लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसले केही सडक निर्माण भएर बीचैमा रोकिएको थियो । तर चालु आर्थिक वर्षको गाउँपालिकाको बजेट कार्यक्रमबाट पाँच लाख रुपैयाँ विनियोजन भएपछि मात्र सो सडक निर्माणले गति लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार