ओमानका कामदार, इलाममा मालिक भुवन मगर

सन्जिता देवकोटा

  नयाँ बुलन्द
0 Shares

इलाम : ओमानको ठाउँ, कुकको काम, अनि मासिक ८० हजार रुपैयाँ दाम ! सुन्दै तपाईलाई पनि लाग्न सक्छ, अब कमाउन त्यतै जाउँ ! तर त्यही ठाउँमा त्यही काम गरी दाम कमाएर घर फर्केपछि इलामका भुवन मगरलाई फेरि ओमान जान मन लागेन ।

२०७२ सालमा दुई महिनाको बिदामा घर आएका इलामका भुवन मगर त्यसपछि ओमान फर्किनुभएन । २०६७ सालमा ओमान पुग्दा १५ हजार रुपैयाँ थियो उहाँको तलब ।

१५ हजारबाट ८० हजार रुपैयाँ कमाउने हैसियत बनाउन परदेशमा दुःखका पहाड फोर्नुपर्‍याे । त्यति नै दुःख गरेर धेरै तलब पाउन थालेपछि चाहिँ उहाँलाई विदेश फर्किन मन लागेन ।

जागिर खाने रहरमा गाउँदेखि शहर धाउँदा थाकेर ओमान पुगेका भुवनले अन्ततः विदेशी कामको दुःख, गाली र संघर्षलाई स्वदेशमा गरिखाने जग बनाउनुभयो । त्यही जगमा ठडिएको छ ईलाम बजारमा उहाँले चलाएको होटल । परदेशमा गरेको दुःख र सिकेको सीपले अहिले भुवनको भविष्यको बाटो बनाएको छ ।

अहिले गरिरहेको होटल व्यवसाय र त्यसबाट मिलेको सफलता उहाँले ओमानमा पाँच वर्ष गरेको मेहनत र दुःखका प्रतिफल हुन् ।

भन्नुहुन्छ ‘विदेशमा पाँच वर्ष होटलको काम गरें, यी पाँच वर्षमा विदेशले ज्ञान दियो, बुद्धि दियो, सीप दियो अनि स्वदेशमै गरिखान सक्ने आँट र विश्वास दिलायो’ भुवन विदेशलाई जीवनको एउटा पाठशाला ठान्नुहुन्छ । विदेशबाट फर्किएर इलाम बजारमा होटल सञ्चालन गरिरहेका भुवनको घर इलामकै एकतप्पा हो ।

सेना र प्रहरी बन्न असफल, ओमान पुगेर कुक बन्न सफल

किसान परिवारमा जन्मिएका भुवनले गाउँमा खेतीकिसानी गर्दै एसएलसी पास गर्नुभयो,  दोस्रो श्रेणीमा । एसएलसी पास भएपछि कि सेना कि त प्रहरी बन्ने भुवनको सानैदेखिको चाहना थियो ।

एसएलसी पास गरेको सर्टिफिकेट बोकेर आफ्नो इच्छा पूरा गर्न लाग्नुभयो काठमाण्डौ शहर । सेना र प्रहरीमा जागिर खुलेको थाहा पाउनेबित्तिकै फारम भर्न कुदिहाल्नुहुन्थ्यो ।

‘आर्मीमा भिडिनँ कि, प्रहरीमा भिडिनँ कि, आफुले इच्छाएको कामका लागि म ज्यान दिएरै लागिपरेको थिएँ, तर अहँ भएन, सबैमा पास त हुन्थें तर नाम ननिस्कने,’ भुवनले त्योबेलाको दिक्दारी सम्झनुभयो, ‘सँगै भिडेका साथीहरु मेरो त काका डिएसपी हो भन्थे कोही मेरो त फलानो ठूलो मान्छे आफन्त हो भन्थे, आफ्नो त कोही थिएनन, शिवाय घरमा बुवाबाहेक ।’

मेहनत नगरेको त कहाँ हो र ! तर भित्तामा टाँसिने नतिजामा आफ्नो नाम नभेटेपछि भुवनले विदेश जानुबाहेक अर्को विकल्प देख्नुभएन । र २०६७ सालमा ओमान हानिनुभयो ।

भुवनको दिमाग शून्य थियो । गर्ने काम के हो, कति कमाइ हुन्छ, त्यहाँको वातावरण कस्तो छ केही थाहा थिएन, आफू जाने देशको नाम मात्रै थाहा थियो ।

‘त्यो कम्पनी सप्लाई रहेछ, नेपालीलाई होटलमा काम लगाउने भने । सुरुमा त क्लिनिङको काम गरें, हातमा सीप भए पो ठूलो काम पाइन्थ्यो त’ भुवनले ती दिन सम्झनुभयो ।

हातमा सीप नहुँदा, हिन्दी र अरबी भाषा नजान्दा बोली बन्द हुन्थ्यो नै । त्यही कारण धेरै हैरानी खेप्नु पर्‍यो । गाउँमा सरकारी स्कुलबाट एसएलसी गरे पनि ‘आएँ’, ‘गएँ’ ‘खाएँ’ जस्ता सामान्य कुराबाहेक अंग्रेजीमा दख्खल थिएन । उहाँले काम गर्ने ठाउँमा अरबी र हिन्दी धेरै चल्थ्यो । तर ओमान पुग्नासाथ नयाँ भाषा भुवनको बशको कुरा थिएन । तर नसिकी भएको पनि थिएन ।

‘भाषा सिक्न मैले पुराना मान्छेलाई आफ्नो साथी बनाएँ, दिमागमा नअटेका कुरा काम गर्ने ठाउँमा कोरेर राख्थे अनि डायरी नै बनाएको थिएँ, उनीहरुले केलाई के भन्छन् त्यो टप्प टिपेर राख्थें,’ भुवनले भाषा सिक्न गरेको संघर्ष सुनाउनुभयो ।

हेर्दै, टिप्दै र बोल्दै गर्दा अरबी र हिन्दी भाषा सञ्चार गर्न सक्ने हुनुभयो । ६ महिनामा भुवनले भाषामा र काममा बरोवर जस्तै प्रगति गर्नुभयो । हुन त उहाँको काम क्लिनरको थियो । तर उहाँकै अग्रसरताका कारण ६ महिना पछि उहाँले हेल्परको काम गर्न थाल्नुभयो । तलब पनि बढेर २५ हजार रुपैयाँ भयो ।

‘हेल्परको काम भए पनि म सेफलाई सबै काम सघाउँथें, एकचोटी छोरीको बिहेमा मेरो सेफ घर जानुपर्ने भयो, त्योबेला उसको जिम्मेवारी मैले नै सम्हालें’ भुवनले गद्गद् हुँदै सुनाउनुभयो ‘त्यसपछि त म पनि कुक भैहालें नि ।’

भुवन मेहनतलाई नै सफलताको सुत्र मान्नु हुन्छ । अर्काको काम हो भनेर कहिले लापरबाही गर्नुभएन । आफ्नो जिम्मेवारी पूरा गर्न हेलचेक्र्याईं गर्नु भएन । काममा तलमाथि  नगर्ने भुवनलाई बढुवा गर्न कम्पनीले पनि कञ्जुस्याईं गरेन । महिनामा १५ हजार रुपैयाँबाट शुरु भएको तलब बर्ष दिन पछि ८० हजार रुपैयाँ पुर्‍याउन उहाँको मेहनतले मात्र साथ दियो ।

‘विदेशमा समय खेर फाल्नु हुँदैन’ 

कमाउन गएको एक सामान्य मान्छेका लागि काम अनुसारको दाम र आत्म सम्मान भन्दा बढी अर्को खुसी हुदैन । तर ओमानमा मिलेको यो खुशीले भुवनको मन पग्लन सकेन ।

उहाँलाई भोलिको चिन्ताले सतायो । हातपाखुरा चल्न छोडे भने परदेशको जागिर पनि उतै छोडिन्छ र जहाजले भुईं छोड्दा सपना पनि उतै छुट्छ भन्ने डर बढ्यो ।

‘समय यसै खेर जान दिनु हुँदैन भन्ने लाग्थ्यो, मन खल्लो भइरहन्थ्यो, अर्काको देशमा मात्र बसेर भएन, उनीहरुले त मलाई बिदामा पनि नजाउ भनिरहेका थिए । म आएँ, घर आएपछि गाउँघरमै केही गर्नुपर्छ भन्ने लाग्यो,’ भुवन भन्नुहुन्छ, ‘त्यसपछि फर्किंइनँ ।’ स्वदेशमै केही गर्ने जमर्को गरेका भुवनलाई परदेशको कमाइले लोभ्याएन ।

ओमनमा कामदार, इलाममा मालिक

घर आएका बेला पविरासित स्वदेशमै केही गर्ने इच्छा छ भनेर कुरा गर्नुभयो । भुवनलाई परिवारले साथ दियो । परिवारको साथ पाएपछि २०७२ सालको अन्त्यतिर सुरु गर्नुभयो इलाम बजारमा होटल ।
‘सुरुमा त सानो होटल थापेको थिएँ, त्यो राम्रो नै भयो, ६ महिना त्यहाँ होटल सञ्चालन गरेपछि लजसहितको होटल खोलेको हुँ,’ भुवनले आफ्नो व्यवसायका बारेमा सुनाउनुभयो ।

उहाँले दुई लाख ५० हजार रुपैयाँ लगानी गर्नुभयो ‘एकतप्पा होटल एण्ड लज’को सुरुवात गर्न । सीप थियो । व्यवसाय कसरी अघि बढाउन सकिन्छ भन्ने अनुभव पनि ।

व्यवस्थापनका कुरादेखि काम गर्ने तरिकासम्म उहाँले सिक्नुभएको थियो विदेशमा । तर लगानी डुब्ने पो हो कि भन्ने एक मनमा डर पनि थियो भुवनको । त्यही डरले उहाँलाई फुकि फुकि पाईला चाल्न सिकायो र सफलताको बाटोमा अघि बढ्न सचेत गरायो । अहिले साढे दुई वर्ष भयो, भुवन आफ्नो कामको मालिक आफैं बनेको ।

भुवनलाई अहिले लाग्छ, विदेश गएर त्यो दुःख नभोगेको भए सायद दुःखका खुट्किलाहरु सजिलै पार गर्ने बानी पर्ने थिएन ।

ओमानमा बिताएका पाँच वर्षले भुवनलाई दुःखसँग लड्न सिकायो । दुःखैमा पनि रम्न सिकायो । सँगसँगै सीप सिकायो । परदेशमा अरुको काम गर्दा ८० हजार रुपैयाँ कमाइरहेका भुवन आफ्नै देशमा मासिक एक लाख रुपैयाँ कमाउने हुनुभयो ।

भाडामा लिएर सञ्चालन गरेको होटलको घरभाडा मासिक ३२ हजार रुपैयाँ तिर्नु पर्छ । खर्च कटाएर पनि भुवनको मासिक आम्दानी एक लाख रुपैयाँ त कतै जाँदैन । उहाँले तीन जना युवालाई रोजगारी पनि दिनुभएको छ ।

‘म त यहाँ काम नपाएर विदेश गएको हुँ, मेरोमा काम गर्ने भाइहरु भने काम हुँदा पनि विदेश जान्छु भन्छन्, सम्झाउँछु तर अहिलेका युवाको मन देशको काममा बस्दैन,’ भुवन गुनासो गर्नुहुन्छ ।

सफलताको सूत्र मीठो बोली र मेहनत

व्यापार गर्ने भुवनको आफ्नै तरिका छ । हातमा काम गर्ने सीप भएर मात्र पनि पुग्दैन जस्तो लाग्छ भुवनलाई । सीपलाई सपार्न व्यवहार राम्रो चाहिने भुवनको अनुभव छ ।

‘व्यवसायमा सबैभन्दा ठूलो कुरा मानिसले गर्ने व्यवहार हो, राम्रो बोलीचाली भएन भने एक पटक आएको मानिस दोस्रो पटक आउँदैन,’ भुवनको अनुभवले भन्छ, ‘मनमा पीडा किन नहोस् तर हाँस्न छोड्नुहुन्न, हाँसो नै सबै पीरको औषधी हो ।’ भुवनसँग यो सीप छ ।

उहाँ ग्राहकसँग मीठो बोल्नुहुन्छ । असल व्यवहार गर्नुहुन्छ । उहाँको व्यवहारले त्यहाँ पुग्ने जो कोहीको मन पग्लिन्छ । एकपटक भुवनको होटलमा पुगेको मान्छे फेरि पनि त्यहाँ पुगिरहन्छ ।

विदेशकै कमाइमा रमाएको भए परिवारसँग टाढा हुन पर्थ्याे । समय र उमेर यसै जान्थ्यो । त्यो बेला बिदामा आएर नफर्किएर सही निणर्य गरेको छु भन्ने लाग्छ भुवनलाई ।

भुवनले पनि इलाम बजारमा सुरु गरेको होटल अघि बढाउन निकै मेहनत गर्नु पर्‍याे । बजारमा उहाँको जस्ता होटल थुप्रै थिए । भीडको बीचमा आफ्नो छुट्टै परिचय बनाउन दिनरात मेहनत गर्नुभयो ।

‘सुरुसुरुमा होटल नचल्दा दिक्क भएर छाडेको भए यहाँसम्म आइपुग्थें होला र ? भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन, भाग्यका लागि मेहनत गर्नुपर्छ,’ भुवन भन्नुहुन्छ, ‘मैले मेहनत गरें, मलाई पुगेको छ ।’ भुवनका लागि मेहनत नै सफलताको अर्को नाम हो ।

उज्यालो अनलाईनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार