माङसेबुङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको ज्ञानभूमी देउमाई नगरपालिकाको खत्रक्पा र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको तपोभुमी फुलुङगीलाई धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा आयोजना गरिएको माघे संक्राती सत्यहाङमा शान्ति मकर मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ती क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको जानकारी दिए ।
मुख्यमन्त्री राईले धर्मगुरुहरुको तपोभूमीलाई लारुम्बा, लब्रेकुटी र चुक्चीनाम्बासँगै जोडेर यसको विकासका लागि ५ वटा क्षेत्रसँग हातेमालो गर्ने बताए । उनले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र धार्मिक संस्थाहरुको लगानीमा यस क्षेत्रको विकास गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता जनाए ।
यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले महागुरु फाल्गुनन्द र वर्तमान किरात धर्मगुरुले खत्रक्पा र फुलुङ्गीमा जपतप र साधना गरेर शान्ति तथा सद्भावका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको र यसकार्यले मुलुकलाई ठूलो योगदान पुगेको दावी गरे । उनले राष्ट्रिय विभूति फाल्गुनन्द प्रदेशको गहना रहेको उल्लेख गरे । उनले उक्त भूमिलाई आउँदो वर्षदेखि गुरुयोजना निर्माण गरेर प्राथमिकतामा राखिने बताए ।
कार्यक्रममा माईनगरप्रमुख दिपककुमार थेबे, माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा योङहाङलगायतका बुद्धिजीवीहरुले ती क्षेत्रको चर्चा गरेका थिए ।
कार्यक्रममा माङलाङ, केलाङ, मारुनीनाच, साकेला, वालन, संगीनी, हुर्रा, पालाम, हाक्पारे, लोकगीत लगायतका सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।
शान्ति र आनन्दभूमी खत्रक्पा र फुलुङगी : धर्मगुरु लिङदेन
किरात धर्मगुरु आत्ममानन्द लिङ्देनले खत्रक्पा र फुलुङगीमा यसअघिका युगपुरुषहरुको समेत जपतप गर्ने ठाउँ भएकाले महत्वपूर्ण भूमि रहेका बताएका छन् । खत्रक्पामा महागुरु फाल्गुनन्द लिङदेनलाई युमामाङ प्रकट भएर ज्ञान शिक्षा दिएको र ठूलठूला अक्षरमा साम्जिक मुन्धुम दृश्यावलोकन गराएको बताए ।
यश क्षेत्रको विकासका लागि प्रदेश सरकारले व्यक्त गरेको प्रतिवद्धताले आफूलाई उत्साहित बनाएको बताउँदै लिङदेनले यसको विकासले सिंगो राज्यलाई समृद्धिमा सहयोग पुग्ने दावी गरे । ‘यो क्षेत्र सबैको साझा पुण्यभूमी भएको र यहाँ भविष्यमा लाखौं दर्शनार्थीहरु आउने देखिन्छ’ धर्मगुरु लिङदेनले भने ।
कार्यक्रममा मदन भण्डारी चुरे मार्ग, खत्रक्पा संरक्षण समिति र फुलुङगी फाउन्डेसन लगायतका विभिन्न संस्थाले मुख्यमन्त्री राईसमक्ष मागपत्र पेश गरेका थिए ।
लोकबहादुर लिङ्देनको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई मनकुमार लिम्बू (अवोध अविरल) ले सञ्चालन गरेका थिए ।
आरम्भको सहयोगमा