डा. केसीको विरुद्ध अर्को सत्याग्रह, राष्ट्रिय झण्डाको दुरुपयोग (भिडियो सहित)

  राम योङहाङ  773 पटक हेरिएको

इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको विरुद्ध इलाममा अर्को सत्याग्रह सुरु भएको छ ।

डा. केसीले १५ औं सत्याग्रहपछि गत १० साउनमा सरकारसँग भएको सम्झौता बमोजिम अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायत ६ बुँदे मागसहित सत्याग्रह सुरु गरेको तेश्रो दिन उनकै विरुद्ध अर्को सत्याग्रह सुरु भएको हो ।

ओखलढुङ्गाका सिस्नेरी स्थायी घर भएका विजय थापाले हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक पास गर्नुपर्ने लगायत ९ बुँदे माग सहित इलाम चोकबजारको लाकुरी चौतारामा सत्याग्रह सुरु गरेका हुन् ।

त्यस्तै काठमाडौं उपत्यका बाहिर दशभरी नै मेडिकल कलेज खुवाउने वातावरण निर्माण गुर्नपर्ने, सरकारी तलब सेवासुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई सरकारी सेवाबाट बर्खास्ती गरि कारवाही गरिनुपर्ने, बलत्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गरिनुपर्नेलगायतको माग उल्लेख छ ।

राष्ट्रिय झण्डाको दुरुपयोग

दलबलसहित इलाम आएका थापाको टोलिले डा. गोविन्द केसीको विरुद्ध चर्को नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । करिब ३ दर्जन युवाहरुको सहभागितामा भएको र्यालीले इलाम बजार परिक्रम गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विजय थापाले आफ्नो मागलाई सरकारले वेवास्ता गरेको कारण सत्याग्रह बस्न बाध्य भएको बताए । उनले आफ्नो मागलाई सरकारले पूरा नगरेसम्म सत्याग्रह जारी रहने बताए ।

‘निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त संघर्ष समिति’ नामको ब्यानरसहित निकालिएको र्यालीमा नेपालको राष्ट्रिय झण्डाको समेत प्रयोग भएको थियो । डा. केसीको विरुद्धमा निकालिएको र्यालीमा नेपालको झण्डा दुरुपयोग भएको भन्दै स्थानीय विरोध समेत जनाएका छन् । ‘राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधि २०६९’ ले कुनै पनि विरोधका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोगमा निशेध गरेको छ ।

राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी कार्यविधि २०६९’ बनाएको थियो । जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र सीमित भएको छ । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको छ ।

यस्तो छ उनको मागपत्र

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार