
इलाम : चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा सुरु गरेको १६ औं सत्याग्रहको समर्थनमा इलामका महिलाहरुले र्याली निकालेका छन् ।
डा. केसीको माग पूरा गर्न सरकारलाई दवाव दिन भन्दै इलामका महिलाहरुले ऐक्यवद्धता र्याली निकालेका हुन् । डा. केसी सत्याग्रह बसेको स्थान इलामको फुलगाछिबाट निस्केको र्यालीले इलाम बजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला अगुवा विष्णु लिम्बू दाहालले डा. केसीको माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरेकी थिइन् ।
डाक्टर तिमी एक्लै छैनौ, डाक्टर केसीको माग पूरा गर, आइएम विथ डा. गोविन्द केसी लगायत नाराहरु लेखिएको प्लेकार्ड सहित महिलाहरु स्वस्फूर्त रुपमा र्यालीमा सहभागी भएका थिए ।
गत १० साउनमा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित सत्याग्रह थालेका हुन् ।
१६ औं सत्याग्रहका मागको पहिलो बुँदामा १५ औं सत्याग्रहपछि गत साउन १० मा सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने उल्लेख छ।
त्यस्तै डा. केसीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन् ।
साथै, प्रमाण नस्ट गर्ने, नक्कली प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाइ हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि डा. केसीले माग गरेका छन् ।
डा. केसीले देशमा बढेको भद्रगोल, अराजकता र दन्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।
डा. केसीले प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असरपरेकोजस्तो देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरे ।
अनशनको तयारीका लागि डा. केसी पुस २४ गते मंगलबारै इलाम आएका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले डा. केसीसँगको सहमतिविपरीत विधेयक पारित गरेको छ ।
हेर्नुहोस् भिडियो :















































