फूसको छानो हटाउन सूर्योदय नगरपालिकाको यस्तो अभियान !

गरिबलाई जस्तापाता वितरण गर्दै सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईसहितको टोलि ।

इलाम : इलामको सुर्योदय नगरपालिकाले फूसको छानोमुक्त नगरपालिका बनाउने अभियान सुरुवात गरेको छ ।  अभियान अन्तरगत नगरपालिकाले नगरभित्र रहेका गरिबको फूसको छानो प्रतिस्थापन कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले गरिबको फूसको छानो प्रतिस्थापन गर्न जस्तापाता वितरण कार्य सुरुवात गरेको छ । नगरभित्रका फूसको छानो भएका गरिब घरपरिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई जस्तापाता वितरण सुरु गरिएको नगरप्रमुख रनबहादुर राईले जानकारी दिए ।

पहिचान गरिएका सबै गरिब घरपरिवारलाई फूसको छानो हटाउनको लागि जस्तापाता वितरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको  छ । सुर्योदय नगरपालिकाका १४ वडामध्ये ६ र ८ बाहेकका सबै वडामा रहेका १ सय १९ गरिब घरपरिवारको फूसको छानो भएको घर छन् ।

तीमध्ये पहिलो चरणमा आर्थिक रूपले अतिविपन्न ६३ घरपरिवारलाई जस्तापाता वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । शनिबार पहिलो चरण अन्तरगत १४ घरपरिवारलाई जस्तापाता वितरण गरेर अभियानको औपचारिक सुरुवात गरिएको  छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमलसिना, प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ, उपप्रमुख दुर्गादेवी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, पत्रकार, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थितिमा जस्तापाता वितरणको सुरुवात गरिएको थियो ।

उनीहरुलाई २ देखि ४ बण्डलका दरले जस्तापाता वितरण गरिएको छ । नगरपालिकाले गठन गरेको समितिको सिफारिसका आधारमा जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको  छ ।  बाँकी ५७ घरका लागि दोस्रो चरणको कार्यक्रम समेत चाँडै गरिने नगरप्रमुख राईले बताए ।

नगरपालिका भित्र रहेका विभिन्न विकास निर्माणका कार्यहरुसँगै गरिब जनताको घरलाई फूसको छानो मुक्त बनाउने अभियान सुरुवात गरिएको नगरप्रमुख राईले बताए । ‘फूसको छानोमध्ये धेरै घरहरू वर्षातको झरीमा पानी चुहेर बसी नसक्नु हुने र सुत्ने ठाउँ समेत पानीले भिजेर रातभरी जाग्राम बस्नुपर्ने अवस्था थियो’ नगरप्रमुख राईले भने, ‘गरिब जनताको यस्तो समस्या मध्यनजर गरी नगरपालिकाले फूसको छानो प्रतिस्थापन अभियान संचालन गरेको हो ।’

गाउँको समृद्धिको लागि सबभन्दा पहिले गरिबलाई उनीहरुको जिवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै नगरप्रमुख राईले उनीहरुको जीवनस्तर स्तरोन्नति नगरेसम्म समृद्ध सम्भव नरहेको उनको भनाइ छ ।

अभियान अन्तरगत नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ मा चार लाख रुपैयाँ मात्र विनियोजन गरेको थियो । तर रकमान्तर गरेर भएपनि यसैवर्ष सबै गरिबका घरमा जस्तापाता पुर्‍याउने तयारी गरिएको नगरप्रमुख राईले बताए । उनले चुनावको बेला जनतालाई दिएको आश्वासन अनुसार काम गर्दै जाने समेत बताए  ।

गरिब परिवारलाई जस्तापाता वितरण कार्यक्रममा स्थानीय सरकाले आफूहरुलाई जस्तापाता वितरण गरेकोमा खुसी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार