माङसेबुङको इभाङमा अस्थायी प्रहरी पोष्ट स्थापना

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र माङसेबुङ गाउँपालिकाको सहकार्यमा इभाङमा प्रहरी पोष्ट स्थापना गरिएको हो ।

गाउँपालिकाको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले माङसेबुङ गाउँपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम इभाङमा प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रहरी पोष्ट स्थापनाका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ नै माङसेबुङ गाउँपालिका पुगेका थिए । प्रहरी पोष्टको स्थापनापछि यपरिक्षक श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सधैं तयार रहेको बताए । उनले स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र जनताको जीउधन सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिदैं सहयोग गर्न माङसेबुङबासीहरुसँग अपिल ससेत गरे ।

हरेक स्थानीय तहमा बैंक र इलाका प्रहरी कार्यालय रहने सरकारको नीति अनुसार प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

स्थानीय सरकार गठन भएपछि गाउँपालिकाको केन्द्र रहेको स्थानमा बैंकको समेत स्थापना भईसकेकाले आवश्यक सुरक्षाका लागि गाउँपालिकाको पहलमा प्रहरी पोष्ट स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । प्रहरी पोष्टको व्यवस्थापनका लागि गाउँपालिकाकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अस्थायी प्रहरी पोष्टका लागि गाउँपालिकाको कार्यालय नजिकै एक घरमा चार कोठा भाडामा लिइएको छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था गाउँपालिकाले गरेको छ । तत्कालका लागि भाडा समेत गाउँपालिकाले नै तिर्ने बताईएको छ ।

प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी खटाइएको छ ।

अस्थाई प्रहरी पोष्टको प्रहरी उपरिक्षक श्रेष्ठसहित माङसेबुङ गाउँपालिकाका अध्यक्ष इधिङ्गो र सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर इलाम नम्बर १ गणका उपरिक्षक बिदुर खड्काले संयुक्त रुपमा प्रहरी निरिक्षण समेत गरेका थिए ।

प्रहरी पोष्ट स्थापना भएपछि स्थानीयबासी खुसी भएका छन् । समाजमा शान्ति सुरक्षाको प्रत्याभूति भएको भन्दै उनीहरुले माङसेबुङ पुगेका प्रहरी उपरिक्षकसहितको टोलिलाई फूलमालाले भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार