माइजोगमाईमा ‘अध्यक्ष कप फुटबल प्रतियोगिता’ हुने

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। गाउँपालिकाका ६ वटै वडामा रहेका विभिन्न फुटबल टाीमहरुलाई समावेश गरेर माईजाेगमाई अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

गाउँपालिकाको ६ वटा वडाका १६ टीमको सहभागीता रहने सो प्रतियोगिता आगामी मंसिर १२ देखि २५ गते सम्म सञ्चालन हुने माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए।

गाउँपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै माइजोगमाई गाउँपालिका क्षेत्रमा फुटबल खेलको विकास गर्ने उद्देश्यले अध्यक्ष कप आयोजना गर्न लागिएको र खेल नकआउट विधिमा सञ्चालन हुने राइले बताए।

माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख र २० तोला चादी जडित माईजाेगमाई रनिङशिल्ड र उपविजेताले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। साथै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक , अनुशासित टीम म्यान अफ दि म्याच लगायतका विधागत पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा अवस्थित बालागुरु खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको फाइनल खेल अागामी २५ मंसिरमा समपन्न हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार