राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाईयो (फोटोफिचर सहित)

इलाम : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३४ औं जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाईएको छ । किरात धर्म सम्बद्ध विभिन्न संस्था तथा किरा धर्मावलम्बीहरुले इलाम सहित पूर्वका विभिन्न जिल्लामा धुमधामका साथ फाल्गुनन्दको जन्मजयन्ती मनाईएको छ ।
सामूहिक पूजा, समसामयिक विषयमा अन्तरक्रिया, साँस्कृति कार्यक्रम, खेलकुदका कार्यक्रम, सम्मान कार्यक्रम तथा फाल्गुनन्दको शालिक अनावरण गरेर फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।
जन्मजयन्तीका अवसरमा फाल्गुनन्दको जन्मस्थान इलामको माङसेबुङ गाउँपालिकाको माङसेबुङ, इभाङको चुक्चीनाम्बा, गजुरमुखी, माई नगरपालिकाको दानाबारी, महमाई, सन्दकपुर गाउँपालिकाको माबु, जमुना तथा चुलाचुली गाउँपालिकाका विभिन्न सहित किरात बाहुल्यस्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाईएको छ । फाकफोकथुम ७ स्थित एकतप्पाको रुपाटारमा सामूहिक पूजा र साँस्कृतिक कार्यक्रम गरि जन्मजयन्ती मनाईएको छ । श्रीसिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा भएको कार्यक्रममा फक्ताङलुङ आइडल फस्ट रनर अप गंगा फियाक, बाल गायक मनिस लिम्बू र गायिका दीपा सुहाङले साँगितीका प्रस्तुती गरेका थिए ।


यस्तै फाल्गुनन्दको देहान्त भएको स्थान पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सिलौटी र लब्रेकुटीमा समेत भव्य रुपमा फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।
यस्तै पाँचथरको फिदिममा फाल्गुनन्दको शालिक अनावरण कार्यक्रम गरिएको छ । वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा लिङदेन तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले फाल्गुनन्दको सालिक अनावरण गरे । साथै त्यहा“ फाल्गुनन्दको सन्देशलाई प्रचार गर्नका साथै किरात धर्म परम्परा अनुसार पुजाआजा समेत गरिएको थियो ।
फल्गुनन्दले सांस्कृतिकरुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रश्ट भएको धार्मिक अभियान्ताहरु बताउँछन् । सरकारले राष्ट्रिय विभूतीको रुपमा घोषित गरे पनि राष्ट्रिय पर्व मान्दै २५ कात्तिकमा सार्वजनिक बिदा दिइनुपर्ने माग सम्बोधन नभएको धर्मानुरागीको भनाई छ । नेपाल सरकारले १६ मंसीर २०६६ मा तत्कालिन फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
इलामको माङसेबुङ गाउँपालिकाको इभाङस्थित चुक्चिनम्बामा २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालम्बीहरुको विश्वास छ । उनले देउमाई नगरपालिका ९ जितपुर खत्रक्पा खोल्सी माईखोलाको किनारमा ज्ञान प्राप्त गरेको किरात धर्मालम्बीहरुको दावी छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए ।
माङसेबुङस्थित वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनका साईनोमा बाजे पर्ने फाल्गुनन्दले उतिबेला पा“चथरको लब्रेकुटी र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किरात मन्दिर बनाएका थिए । समाज सुधारकस“गै किरात धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किरात बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर उनको सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।


किरातीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकारहरु बताउँछन् । उनले प्रतिवादन गरेको धर्मलाई किरात हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न उनले धर्ममार्फत अभियान चलाएकाले यो धर्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ । ‘१९८८ बैशाख २४ गते किरा“तीहरुको भेलाले सत्य र शान्तिको पक्षपाती भएकाले धर्मको नाम नै सत्यहाङवा राख्ने निश्कर्षमा पुगे,’ किरा“त धर्म तथा साहित्य उत्थान संघका आङवुहाङ अवोध अविरलले भने, ‘अहिले साझा रुपमा किरात धर्म भन्ने गरिएको छ ।’
फाल्गुनन्दको निधन २२ चैत २००५ मा पा“चथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटीमा भएको हो । उनले तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई तिर्थस्थलकोरुमा लिइने गरेको छ । सरकारले किरातीहरुलाई मात्र जन्मजयन्तीको बिदा दिएर विभेद गरेको किरात धर्मावलम्बीहरुको गुनासो छ ।
जन्मजयन्तीका अवसरमा इलामका चार स्थानीय तहले भने आइतबार सार्वजनिक विदा दिएको छ । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथसम गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार