इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आज (आईतबार) देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हुँदैछ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको आइतबार प्रदेश १ का सांसद रामबहादुर मगरले उद्घाटन गर्दैछन् ।
‘आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौं, समृद्ध पर्यटनको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ आयोजनामा हुन लागेको महोत्सव २७ कात्तिकसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेको छ । महोत्सवका लागि अनुमानित १० लाख रुपियाँ खर्च हुने आयोजक समितिका संयोजक गोविन्द गुरागाईले बताए । ‘महोत्सवमा छिमेकी जिल्ला सहित भारतका सिक्किम र दार्जिलिङका समेत गरी १५ देखि २० हजार पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखेको छौ“’ संयोजक गुरागाईले नयाँ बुलन्द डटकमसँग भने, ‘करिब १० लाख रुपैया“ बराबरको खर्च लाग्ने अनुमान गरि तयारी गरेका छौं ।’
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतीका साथै विभिन्न जातजातिका झा“कीहरु प्रदर्शनी, साहित्यिक–सांस्कृतिक र विविध खेलकुदका कार्यक्रमहरु हुने आयोजक समितिले जनाएको छ ।
महोत्सवमा राई, लिम्बू, मगर, सुनुवार, तामाङ लगायतका जातिहरुको जातीय संस्कृति झल्कने विशेष साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवका प्रमुख आर्कषणहरु
महोत्सवमा प्रमुख आकर्षणको रुपमा सुर्योदय र सुर्यस्तको दृश्यावलोकन रहनेछ । समुन्द्री सतहदेखि १ हजार ६ सय ९३ मिटरको उचाईमा रहेको सिद्धिथुम्का चुलीबाट सुर्योदय र सुर्यास्तको दृश्यको मजा लिन सकिने भिन्न पहिचान छ । यस्तै चुलीबाट देखिने कञ्चनजंगा र हिमालय पर्वतको श्रीङ्खला साथै तराईका समथर फाँटहरु, नजिकै रहेको अजम्बरे डाँडा, खान्दु्रङ गुफा, पङखेलुङ झरना, खान्द्रुङ गुफा, सिद्धिदेवीस्थान, पाल्सेन डुब्लिङ गोन्पो (गुम्बा), किरातेश्वर शिवालय मन्दिर, प्राकृतिक, जैविक विविधता, स्थानीय हस्तकला, विभिन्न कृषिजन्य वस्तुहरुको अवलोकन, जातीय साँस्कृतिक नाँचगान र स्थानीय खानपिनको परिकार महोत्सवको आकर्षण बन्नेछन् ।
यसअघि ६, ७ र ८ मंसिर २०६५ मा प्रथम सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्न भएको थियो । त्यस्तै दोश्रो सिद्धिथुम्का पर्यटन महोत्सव ५, ६ र ७ मंसिर २०६६ मा आयोजना गरिएको थियो । सिद्धिथुम्काको पर्यटकीय विकासलाई अगाडी बढाउनमा महोत्सव प्रभावकारी भएको दावी गरिएको थियो ।
सिद्धिथुम्का पुग्ने विभिन्न मार्ग
सिद्धिथुम्का पुग्न विभिन्न मार्गहरुको प्रयोग गर्न सकिन्छ । देउमाई नगरपालिकाको वडा नम्बर ७ मा पर्ने सिद्धिथुम्का सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा पर्दछ ।
इलाम बजारबाट साढे ३८ किलोमिटर मोटर यात्रामा मेची राजमार्गको नेपालटार हुँदै देउमाई नगरपालिकाको गाग्रे भञ्ज्याङको बाटो सिद्धिथुम्का पुग्न सकिन्छ । त्यस्तै झापाको विर्तामोडबाट इलामको दानाबारी, चिसापानी, सोयाक हुँदै ४८ किलोमिटर मोटरयात्रामा सिद्धिथुम्का पुग्न सकिन्छ । इलाम बजारदेखि नेपालटार हुँदै सिद्धिथुम्काको गाडि भाडा जीपमा २२५ रुपैयाँ र विर्तामोडबाट दानाबारी चिसापानी हुँदै आउँदा २४० रुपैयाँमा सिद्धिथुम्काको पञ्चमी आउन सकिन्छ ।
त्यस्तै पञ्चमी आइपुग्न इलाम सदरमुकामबाट इलाम नगरपलिकाा ९ को भञ्ज्याङ, १२ को साङरुम्बा र ११ को सिद्धिथुम्का हुँदै सबै भन्दा छोटो दूरीबाट पनि गाडिमा पञ्चमी पुग्न सकिन्छ । यो बाटो मेची राजमार्गको भञ्ज्याङदेखि पञ्चमीसम्म १६ किलोमिटर कच्ची छ । सदरमुकामबाट जम्मा २२ किलोमिटरको गाडि भाडा १९० रहेको छ ।
पर्यटकको पर्खाइमा सिद्धिथुम्का
पश्चिमी सिद्धिथुम्का डाँडा पर्यटक आर्कषणको केन्द्र बन्दै गएको छ । १ हजार ६ सय ९३ मिटरको उचाइमा रहेको सद्धिथुम्का चुलीबाट सूर्योदय, सूर्यास्त, हिमश्रृङ्खला र प्रदेश १ का थुप्रै भुभाग राम्ररी देख्न सकिन्छ ।
सदरमुकामवाट १५ किलो मिटर पश्चिममा रहेको सिद्धिथुम्कामा सदरमुकामवाट मोटर सडक खुलाइए पछि पर्यटकलाई त्यहाँ पुग्न सहज भएको छ । सिद्धिथुम्का डाँडासँगै, खान्द्रुङ सुरुङ, अजम्बरे डा“डा, पंखेलुङ झरना जस्ता प्राकृतिक सम्पदाले त्यहाँ पुग्नेलाई आनन्दित बनाउँछ । त्यहाँसम्म पुग्ने सडक, खानेबस्ने व्यवस्था, पिउने पानीलगयतको प्रवन्ध हुन सके यो क्षेत्र महत्वपूण गन्तव्य हुन सक्ने वडा सचिव युवराज घोर्साई बताउँछन् ।
यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीयाबासी क्रियाशील छन् । पर्यटन प्रर्वधनका लागि स्थानीयले पटक÷पटक महोत्सव आयोजना गरेर प्रचार गर्दै आएका छन् । अजम्वरे डाँडाबाट देखिने दृष्यावलोकन पनि लोभलाग्दो छ । यो डा“डावाट जिल्लाका १० वटै स्थानीय लगायत कंचनजंघा हिम श्रृङ्खला र प्रदेश १ का विभिन्न क्षेत्र देख्न सकिन्छ । पञ्चमी बजार छेउको खान्द्रुङ गुफा पनि पर्यटकको आर्कषणको केन्द्र बिन्दु भएको छ । पत्रैपत्रको चट्टानले वनेको यो गुफामा देवी देवता र जनवारका आकृति हेर्न सकिन्छ भने विभिन्न द्धारवाट छिरेर गुफाको अवलोकन गर्न सकिन्छ ।
व्यवसायिक रुपमा फस्टाएको मौरी र बाख्रा पालन तथा अदुवा, अम्लिसो खतीमा अग्रणी यो स्थान व्यवसायिक कृषि प्रणालीको अध्ययन अनुसन्धानका लागि पनि गन्तव्य बन्न सक्ने स्थानीयको भनाई छ । पर्यटन प्रर्वधनका लागि होमस्टे पर्यटनलाई व्यवस्थित बनाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।
चाउचाउ, कुरकुरे, लेजलगायतका ड्राइफुडको सट्टा कोदोको रोटी, फिलुङे, वाचिपा, किनामा, आलम, गुन्द्रुकको अचार र महलगायतका स्थानीय उत्पादनको स्वाद चखाउने स्थानीयले परम्परा बसाएका छन् । महोत्सव गरेर पर्यटन विकासमा स्थनीयवासीले मरिहत्ते गरे पनि हरेक बर्ष नोक्सानी व्यहोर्नु परेका पीडा भने उनीहरुसँग छ ।
फाल्गुनन्द मन्दिर, पंखेलुङ झरना, सिद्धिदेवीको मन्दिरलगायत स्थान पनि महत्वपूर्ण छन् । जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिले पिछडि परेकाले सिद्धिथुम्काको पर्यटनमार्फत समग्र भौतिक विकासका लागि स्थानीयवासी जुटेका छन् ।