सार्वजनिक बिदामा निगमको डिपो खुला, इन्धन अभाव नहुने

काठमाडौं : नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोलपम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।

निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।

निगमले मंगलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो ।

डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोलपम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए ।

बुधबार लक्ष्मीपूजाका दिन सार्वजनिक बिदा भएपनि थानकोटस्थित डिपो भने खुला नै रहेको छ ।

निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्नेगरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्यांकर डिपोमा पठाउनसमेत आग्रह गरेको छ ।

सार्वजनिक बिदाका दिन भएपनि आकस्मिकरुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित ८ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए ।

निगमले दसैंको सार्वजनिक बिदाका दिनमासमेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुला नै राखेको थियो ।

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भन्डारण क्षमता रहेको छ ।

डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार