सन्दकपुरको सेरोफेरो (फोटो फिचर)

  विप्लव भट्टराई
0 Shares

इलाम : सगरमाथादेखि कुम्भकर्ण र कञ्चनजंघा हुँदै भारत र भुटानका दर्जनभन्दा बढी हिमाललाई सीधा उभिएर १ सय ८० डिग्रीको सतहमा देख्न सकिने एउटै स्थान हो सन्दकपुर  ।

जैविक विविधता, लेकाली जीवनशैली अनि कन्काई माईको उद्गमस्थलसमेत रहेकाले घुमघाममा रुचाउने मात्र होइन तीर्थालु र खोजकर्ताका लागि पनि रोजाइमा पर्ने सन्दकपुरको मौसम हो यो ।

दसैंसँगै खुलेको मौसमले आन्तरिकमात्र होइन विश्वभरका पर्यटकलाई यो स्थानले लोभ्याउँछ । सदरमुकाम इलाम बजारबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पाँचथरको फालेलुङ गाउँपालिका र भारतको सिंहलिला राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरमा यति बेला खुट्टा राख्ने ठाउँ छैन । भारततर्फबाट आयोजना हुने साइक्लिङ, म्याराथन दौड र घुम्न आउने विश्वभरका पर्यटक अनि नेपाली बाटो भएर पुग्ने आन्तरिक पर्यटकका कारण यहाँका होटल व्यवसायीहरू एकछिन फुर्सद देखिँदैनन् । सन्दकपुर पुग्न इलामबाट माइमझुवा र मावुको बाटोबाट सवारी यात्रा रोज्न सकिन्छ । माइमझुवाबाट गए माइपोखरी, टोडे झरना, छिन्टापुलगायतका मनोरम दृश्यसँग रम्दै उक्लनको मज्जा छुट्टै हुन्छ ।

मावुतर्फबाट टोडे झरनाको अवलोकनसहित मावुथाम, हिले र दोबाटेको सुरम्य प्राकृतिक छटासँगको सामिप्यले यात्राको कष्ट मेटाउँछ । जमुनातर्फबाट गए ढापपोखरी, हाँगेथाम, कैयाकट्टालगायतको सुन्दरताले मन लोभ्याउँछ । फिक्कल हुँदै नयाँबजार, रमिते र जौबारीको मनमोहक दृश्य चिर्ने बाटोबाट पनि सन्दकपुरको यात्रा गर्न सकिन्छ ।

सन्दकपुरसँगै विखे, कालपोखरी, कैयाकट्टा, जौबारी, गैरीवास, तुम्लिङ, मेघ्मा, गुराँसेलाई पनि गन्तव्य बनाउँदा थप रोमाञ्चकता थपिन्छ । तर यसका लागि मानेभञ्ज्याङ–सन्दकपुरको ३१ किलोमिटर सडकको सहारा लिनुपर्छ । मेची राजमार्गले भेट्ने पौवाभञ्ज्याङ, पाटेनागी छिन्टापु गोरुवाले हुँदै सन्दकपुरसम्मको ट्रेकिङ पनि लोभलाग्दो हुन्छ । पाँचथरको फिदिमबाट पनि सन्दकपुरलाई चुम्न कठिन छैन । सन्दकपुरबाट फ्यालुट, चिवाभञ्ज्याङ, तिम्वुङ पोखरी हुँदै कञ्चनजंघासम्मको साहसिक ट्रेकिङ पनि गर्ने भेटिन्छन् ।

यी क्षेत्रमा पाइने चौंरी गोठ, चिराइतो, पाखनवेत, कुटी, हटचुरलगायत जडिबुटी, लेकाली रहनसहन आदि र झुल्केघामको दृश्यावलोकनले घर नर्फकनु जस्तो लाग्छ । यी सवै क्षेत्रमा खानबस्नको राम्रो प्रबन्ध छ । तर पर्यटकको चाप भएको सिजनमा केही कष्ट भने सहनै पर्छ । छ्याङगै मौसम खुल्ने असोजदेखि वैशाखसम्मै सन्दकपुर यात्रा गर्न सकिन्छ ।

जाडो बढी हुने भएकाले न्यानो कपडाको व्यवस्था गर्न विर्सियो भने चाहिँ कष्ट सहनु पर्छ । लेक लाग्ने समस्याले धेरैलाई सताउने भएकाले भुटेको मकै, अदुवा आदि लानु उपयुक्त हुन्छ । त्यहाँ पुगेपछि स्थानीय उत्पादनको स्वाद चाख्दै ठूलठूला फाँटमा बुर्कुसी मारेर उफ्रनुको आनन्दले पटकपटक यात्रा गर्ने मोह जाग्छ ।

सन्दकपुरको एउटै पीडा भनेको भारतले यति धेरै पर्यटक त्यहाँ पुर्‍याएर फाइदा लिएको छ त्यसको तुलनामा नेपाल कमजोर देखिन्छ । सन्दकपुर क्षेत्रभर प्रयोग हुने खानेपानी नेपालकै र अग्लो थुम्को नेपालकै भएसँगै पारभिन्दा धेरै आनन्द लिने वस्तु वारि नै छन् । मुलुक नयाँ संरचनामा गएसँगै यस क्षेत्रका सम्पूर्ण स्थलको विकास र प्रवद्र्धनमा ३ तहकै सरकारले ध्यान दिने कि ?

श्रोत : कान्तिपुरबाट साभार

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार