पाँचथर : इलाम फाकफोकथुम-१ र फाल्गुनन्द-५ मा रहेको घुर्बिसे पञ्चमी बजारमा कादुरी ब्रिटिश गोर्खा वेलफेयर संस्थाले खानेपानी तथा स्वास्थ शिविर संम्बन्धि सम्भाव्यताको अध्ययन शुरु गरेको छ।
गोर्खा वेलफेयर फिदिम,पाँचथरका प्रमुख सुवराज थाम्सुहाङ्गको पहलमा कादुरी ब्रिटिश गोर्खा वेलफेयर संस्थाका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राई सहित सात जनाको अध्ययन टोलिले यस क्षेत्रको खानेपानी र स्वास्थ अवस्थाको बारेमा अवलोकन गरि स्थानीय सरोकारवालाहरु संग परामर्श लिएको छ।
बजार व्यवस्थापन समितिको आयोजनामा महाभारतडाँडा खानेपानी तथा सरसफाई उपभोक्त समिति अध्यक्ष कृष्णबहादुर सम्बाहाम्फेको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेम्बाङले दुई स्थानीय तहको केन्द्रमा रहेको लामो इतिहास र अस्तित्व भएको घुर्बिसे पञ्चमी बजारको खानेपानी साथै दुबै जिल्लाका आसपासमा रहेका जनताको स्वास्थ अवस्थालाई मध्यनजर गरि स्वास्थ सुविधा दिन इच्छुक कादुरी संस्थाको योजना स्वागतयोग्य भएको बताए। उक्त कार्यमा समन्वय गरि योजना संचालनमा सकारात्मक रहेको प्रतिबद्धता समेत जनाए ।
त्यस्तै,विशेष अतिथि कादुरी संस्थाका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राईले संस्थाद्वारा पूर्व देखि पश्चिम नेपालका विकट ग्रामीण क्षेत्रका गरिब जनतालाई राहत पुग्ने गरि वार्षिक ८० करोड बराबरको योजनाहरु संचालन गर्दै आएको बताए ।
यस संस्थाले माइक्रो हाइड्रो,पिउनेपानी,गोरेटो बाटो,झोलुङ्गे पुल,स्वास्थ शिविर,सोलार बत्ती जस्ता आवश्यक कुराहरुमा सहयोग गर्ने उनको भनाइ छ ।
यस्तै,योजनाहरु संचालन गर्ने क्रममा समुन्द्र सतहबाट करिब दुई हजार मिटर उचाईमा रहेको घुर्बिसे पञ्चमी बजारको लागि पिउने पानीको मुहान अभाव भएको महसुस गर्दै बजारबाट एक किलोमिटर तल इलाम र पाँचथरको आसपासमा रहेको पाँच पाण्डव धारा र पात्ले धाराको मुहानबाट लिफ्टीङ्ग प्रविधिद्वारा बजारमा पानी ल्याउन यस क्षेत्रका जनप्रतिनिधि,बजारबासी, व्यवस्थापन समिति, खानेपानी समिति तथा सरोकारवालाहरुको माग भए अनुसार आवश्यक प्रक्रिया अघि बढाउने साथै माथिल्लो तहबाट स्वीकृत भए तत्काल प्राविधिकको टोलि यस क्षेत्रमा पठाउने समेत उनले आश्वासन दिए।
अन्तर(क्रियात्मक कार्यक्रममा फाकफोकथुम गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष सरु राई,फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष देवित्र कुमारी आङ्देम्बे,प्रमुख प्रशासकीय अधिकृत सुन्दर बान्तवा,जनप्रतिनिधि टेकवीर लिम्बू ,अविन्द्र प्रसाद चेम्जोङले लगायतले यस क्षेत्रको अति आवश्यक खानेपानी र स्वास्थको समस्य समाधान गर्न अनुरोध सहितको मन्तव्य राखेका थिए।
त्यस्तै,जनप्रतिनिधि नारायणप्रसाद आङ्देम्बे, दानबहादुर अधिकारी,सरिता पोर्तेल,सचिव कुमार राई,प्रशासन तथा योजना शाखा प्रमुख राजेन्द्र भट्टराई,व्यापारी,पत्रकार सुरक्षाकर्मी शिक्षक समाजसेवी बुद्धिजीवी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
समाजसेवी विनोद आङ्देम्बेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम बजार व्यवस्थापन समिति सचिव टीका सम्बाहाम्फेले संचालन गरेका थिए।