इलाम बासिले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएनन्

  प्रकाश नेपाल
0 Shares

इलाम : कृषि उत्पादनका लागि अग्रणी इलामका बासिन्दाले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् ।

सदरमुकाममा निर्मित शीत भण्डार निर्माण सम्पन्न भएको ८ वर्ष बित्दा पनि सञ्चालनमा आउन नसकेको हो । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको भएपनि लामो समयसम्म संचालन नहुँदा इलाम नगरपालिकाको व्ययभार बढ्दै गएको छ ।

महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा पुगेका छन् । कोल्डस्टोर नचले पनि निर्माण सकिए यता नगरपालिकाले विद्युत् उपभोग गरेबापतको रकम, नियमित मर्मतसम्भार र १ कर्मचारीको खर्च व्यहोर्नु परिरहेको छ ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि कोल्डस्टोर संचालनमा ल्याउन कठिनाई भएको र यसलाई फरक तापक्रममा फरकखाले तरकारी र फलफुललगायत राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता रहेको सरोकारवालहरुको भनाइ छ ।

२ हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउँदा यहाँ उत्पादन हुने किवीसहितका फलफूल, सागसब्जीलगायतले उचित बजार पाउन नसकेको स्थानीय किसान बताउँछन् ।

तर नगरपालिका त्यो मान्ने पक्षमा देखिँदैन । ‘सिंगल च्याम्बर’ भएकाले केही असर नगर्ने भए पनि कोल्ड स्टोर सञ्चालन गर्न कसैले हिम्मत नगरेको नगरपालिका सुचना अधिकारी रामकुमार साह बताउँछन् ।

यतिमात्र नभएर नगरपालिकाले कर्मचारी वापत मासिक १० हजार रुपैयाँ, बिजुलीको बिलबापत वार्षिक ६ लाख हाराहारीमा र वार्षिक रुपमा कोल्डस्टोरलाई चुस्त राख्न लाखौँ रुपैयाँसमेत खर्च भइरहेको कार्यालयको तथ्यांकमा छ ।

जिल्लाको पहिलो कोल्डस्टोरको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आँट गर्न सकेका छैनन् । जिल्लामा अझै पनि तरकारी तथा फलफूल बेमौसममा बिक्री गर्न कृषकले सकेका छैनन् ।imagekhabar बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार