कुकुर कुटेको आरोपमा दुई युवा पक्राउ, मुलुकी अपराध संहिताअनुसार कारवाही

काठमाडौं : बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो ।

उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् ।

कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो नै पहिलो घटना हो ।

‘उजुरी दर्ता गर्ने कि नगर्ने ?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराध संहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो । मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट पक्राउ आदेशपछि ब्लोन र लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार