पुननिर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री खड्गप्रसाद ओली शर्मा ओलीले पुननिर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पिडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । “पुननिर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन” प्रधानमन्त्री ओलीले भने, “त्यस कारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पिडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिए । “भुईंचालोले घर भत्किएको तीन बर्ष भइसक्यो । प्राधिकरणका इन्जिनियर गाउँ पुग्दैनन् अनि जनाले कहिले इन्जिनियर आउँछन् र उनले भने अनुसारको घर बनाउँ भनेर पर्खेर बस्छन् ?” प्रधानमन्त्री ओलीले भने, “पिडितले घर बनाएको भनेर जनप्रतिनिधीले सिफारिस गरेको आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस् ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गरेका छन् । “बैठक कार्यलय समयमा राख्नुहोस् । कार्यलय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिदैन” प्रधानमन्त्री ओलीले भने, “कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला ।”

प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गरे । “धरहरा पुन निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ” प्रधानमन्त्री ओलीले भने, “तर यसको गुणस्तरमा कुनै कमी हुनुहुदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।”

प्रधानमन्त्री ओलीले धरहरा पुननिर्माणका लागि इन्जिनियर खटाउन,दैनिक नापँजाँच गर्न,प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । “निर्माण सम्झौतामा जे कुरा उल्लेख छ निर्माण कार्यमा त्यही अनुसार गर्नुपर्दछ । र ,समयमा सम्पन्न हुनुपर्दछ” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार