जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध एक महिने अभियान (फोटो फिचर)

इलाम : पछिल्लो समय देशैभर जबरजस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दो छ । दैनिक जसो विभिन्न सञ्चारमाध्यममा बलत्कारका घटना सम्बन्धी कुनै न कुनै समाचार आइरहेका छन् । नागरिक राज्य र सरकार नै नभएको आभास गर्न बाध्य छन् ।

यस्तो अवस्था अन्त्यका लागि भन्दै इलाममा जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध एक महिने अभियान सुरु भएको छ । बढ्दो जबरजस्ती करणी र यौनजन्य हिंसाका घटना निराकरणका लागि जिल्लाका विभिभन्न सरोकारवालाहरुले अभियान सुरु गरेका हुन् । मानव बेचविखच विरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसर पारेर बुधबार अभियानको औपचारिक उद्घाटन गरियो ।

जिल्ला प्रहरी कार्यालय इलाम, इलाम जिल्ला स्थित विभिन्न सरोकारवालाल कार्यालय र संघसंस्थाको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बरालले पछिल्लो समय ब्याप्‍त जबरजस्ती करणी र यौनजन्य हिंसा अन्त्यका लागि यो अभियान कोशेदुङ्गा सावित हुने विश्वास गरे । उनले त्यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्न आग्रह समेत गरे ।

अभियानको सुभारम्भको अवसरमा प्रभावतफेरी गरिएको थियो । विभिन्न जनचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी इलाम नगरपालिका ७ स्थित ठूलो टुँडीखेलबाट सरु भई  बजार परीक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो ।

अभियान जिल्ला प्रहरी कार्यालय सहित नेपाल पत्रकार महासंघ, महिला जागरण संघ, माईती नेपाल पशुपतिनगर, मानव अधिकारका लागि महिला एकल महिला समूह, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ,  नेपाल बार एसोसिएसन, प्याग इलाम, इलाम नगरपालिका, मानव अधिकार मञ्च नेपाल, इलाम नगरपालिका, भरोसा नेपाल, क्वीन इलाम, जिल्ला युवा समितिको कार्यालय, करुणा फाउण्डेशन नेपाल, चेतना नाट्य समुह, हरित नगर महिला समूह र सिस्टरवुड इलामको  संयुक्त आयोजनामा सुरु भएको हो ।

अभियान १६ असोजसम्मा सञ्‍चालन हुनेछ । अभियानका क्रममा सडक नाटक मञ्चन, विद्यार्थी सचेतीकरण कार्यक्रम, महिला समुहसँग अन्तरक्रिया, सरोकारवालासंग अन्तरक्रिया, ब्रुसर वितरण लगायत कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहमा अभियान अन्तरर्गतका कार्यक्रम संचालन हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार