काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अहिलेको संसदको विघटन र राष्ट्रिय सरकारको निर्माण गरी संबिधानको पुनर्लेख गर्नु पर्ने बताएको छ । यही भदौ १६ र १७ गते बसेको माओवादी केन्द्रको पोलिटव्यूरो वैठकले सो कार्यनीतिक योजना अगाडी बढाएको हो ।
सो बिषयमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले भने “सरकारले राष्ट्रिय स्वाधीनतामाथि आच पुर्राएको, प्रतिक्रियावादी कर प्रणाली लागू गरेको, अपराध रोक्न नसकेको, पहिचान विरोधी प्रदेश नामकरण गरेको र संसद जनविरोधी रहेको छ ।” त्यसकारण यो नयाँ कार्यनीतिक नारा अगाडि सारेको दाबी समेत गरे । अहिलेको संविधानलाई पुरै मान्ने, आधा मान्ने र मान्दै नमान्ने तीन वटा शक्ति अस्तित्वमा रहेको भन्दै किराँतीले सबैले मान्ने संविधान बनाउन पुनर्लेखनको माग अगाडि सारेको समेत बताए ।
मधेशवादी दल, नयाँशक्ति र आदीवासी–जनजातीले संविधानमा असन्तुष्ट पक्षले आफ्ना माग समेटनु पर्ने माग राखेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि संबिधान खारेजीको माग राखेको छ । यस्तो बेला किराँती नेतृत्वको पार्टीले संविधान पुनर्लेखनको माग अगाडि सारेको हो ।
किराँतीले भने यदी विप्लव नेतृत्वको नकपाले आफ्नो नारामा सहमति जनाए संसद विघटनको सम्भावना रहने समेत दाबी गरे । नयाँ राजनीतिक शक्ति सन्तुलन देखा पर्ने अबस्थामा काँग्रेस पनि यो मुद्दामा आउने र राष्ट्रिय सरकार बन्ने नेता किरातीले जिकिर गरे ।
त्यसैबीच नेता किराँतीले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् ।
‘उहाँ (गृहमन्त्री बादल) लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अव उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ ।’ किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’