चतुरे बजारमा विजुली बल्यो

स्थानीयले मनाए खुसीयाली

माङसेबुङ गाउँपालिका वडा नम्बर ३ स्थित चतुरे बजार । तस्वीर : नयाँ बुलन्द

माङसेबुङ (इलाम) : पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ चतुरे बजारमा पहिलोपटक केन्द्रीय प्रशारण लाईनको विद्युत विस्तार भएको छ । गाउँपालिकाको केन्द्र प्रस्ताव गरिएको चतुरे बजारसहित मानपुर, ढुङ्गे, असारेबारी र सामाटारमा एकैसाथ केन्द्रीय प्रशारण लाईन विस्तार भएको हो । विद्युत विस्तार भएपछि गाउँ झिलिीमिली भएको छ ।

विगत एक वर्षदेखि विद्युत विस्तारमा लागेका त्यहाँका ८५ घरले यसै सातादेखि विजुली बाल्न सफल भएका हुन् । विजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको स्थानीय कविता राई बताउँछिन् । हाउस वायरीङको काम धमाधम भईरहेको १ सय घर समेत यसै महिनादेखि उज्यालो हुनेछ ।

त्यस क्षेत्रमा विद्युत लाईन पुर्याउनको लागि स्थानीयले गतवर्षदेखि तीब्र गतिमा विद्युत विस्तारको काम गरेका थिए । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ (लारुम्बा) बाट मानपुरको सबस्टेशन हुँदै चतुरेसम्म ११ केभी विद्युत विस्तार भएको हो । यस क्रममा २५ किलोवाटका दुईवटा ट्रान्समिटर राखिएका छन् । घोगटेबारी र चतुरेमा २५ किलोवाटका ट्रान्समिटर राखिएको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मैतराज राईले जानकारी दिए ।

विजुली पुगेपछि वर्षौदेखि टुकीका धिपधिपीमा जीवन गुजार्दै आएका त्यहाँका उपभोक्ताहरु खुसी बनेका छन् । स्थानीय बासिन्दाले विगत लामो समयदेखि गरेको मेहनतपछि विजुली बाल्न पाएको भन्दै खुसीयाली मनाएका छन् । अधिकांश उपभोक्ताले घरघरमा दिपावली समेत गरेको बताईएको छ ।

लामो समयदेखि कुपी बालेर रात कटाउनुपर्ने बाध्यता हटेको स्थानीयबासी संगीता राईले बताइन् । अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण स्थानीय सरकार आएपछि आफूहरुले साँच्चिकै विकासको महसुस गरेको स्थानीय उनको भनाई छ । ‘वर्षौदेखिको विजुली बाल्ने हाम्रो सपना स्थानीय सरकार आएपछि बल्ल पूरा भएको छ’ राईले भनिन्, ‘गर्न चाहे असम्भव केही छैन रहेछ । अहिले त रात पनि दिनजस्तै भएको छ ।’

गाउँमा बिजुली बलेपछि त्यहाँका सबैभन्दा बढी गृहिणी र विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै स्थानीयमा मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन सुन्न र हेर्न तथा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज भएको स्थानीय डेविड सुनुवारले बताए । वडा कार्यालयमा विद्युतीय सरकार सञ्चालनका लागि सबैभन्दा बढी प्रभावकारी भएको वडा अध्यक्ष मैतराज राई बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोग र माङसेबुङ गाउँपालिकाको आर्थिक लगानीमा सो क्षेत्रमा विद्युत विस्तार गरिएको उपभोक्ता समितिका अध्यक्ष रोशन राईले जानकारी दिए । ४० लाख ६८ हजार ९ सय १३ रुपैयाँको लगानीमा फलामे पोलबाट विद्युत विस्तार गरिएको उपभोक्ता समितिले जनाएको छ । त्यसका लागि माङसेबुङ गाउँपालिकाबाट गत आर्थिक वर्ष २०७४÷७५ मा २८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको भने ४ लाख १८ हजार ९ सय १३ रुपैयाँ स्थानीय उपभोक्ताले संकलन गरेका थिए । ८ लाख रुपैयाँ अघिल्लो आवमा नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको थियो ।

यसअघि त्यस क्षेत्रमा विद्युत नहुँदा वडा कार्यालय, विद्यालय, विभिन्न संघसंस्थाहरुले अनेकौं समस्या झेल्दै आएका थिए । उनीहरुले सोलार प्रविधिबाटै सेवा प्रवाह गरिरहेका थिए । विद्युत नभएकै कारण वित्तीय संस्था तथा बैंकहरु समेत स्थापना हुन सकेका थिएनन् ।

वडाका अन्य टोलमा समेत यसवर्षदेखि विद्युत विस्तारको काम थाल्ने उनले बताए । त्यसका लागि डिपीर समे भईसेको भन्दै वडाध्यक्ष राइले भने, ‘हामी यस वडाभित्रका अन्य टोलमा पनि आगामी वर्षभित्र विजुली बाल्ने गरी तयारी सुरु गरेका छौं । त्यसका लागि प्राविधिक कार्यको थालनी भईसको छ ।’

विकासको दृष्टिले जिल्लाको १० स्थानीय तहमध्ये माङसेबुङ गाउँपालिका विकट मानिन्छ । ६ वटा वडामध्ये हालसम्म यहाँको वडा नम्बर ५ का सबै तथा १ र २ आधा क्षेत्रमा केन्द्रीय प्रशारण लाईको विस्तार भएको छ । बाँकी वडा नम्बर ४ र ६ का बासिन्दा हालसम्म टुकीकै भरमा जीवन बिताउन बाध्य छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार