बिर्तामोड : अवैधरुपमा नेपाल भित्र्याउन लागेको १२ लाख ८० हजार भारतीय रुपैयाँसहित एक नेपाली नागरिक पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ परेका छन् ।
सोमबार बिहान भारतबाट नेपाल प्रवेश गर्नेक्रममा मेची भन्सार कार्यालयमा राखिएको एक्सरे मेसिनले झोला स्क्यान गर्दा अवैधरुपमा भित्र्याउन लागेको सो भारतीय रकमसहित ललितपुरका रवीन्द्र बज्राचार्यलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
बज्राचार्यको झोलाबाट ५०, १०० र २०० दरका नोट बरामद भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए ।
‘सुरुमा झोलामा के छ ? भनेर सोध्यौं । कागजपत्रमात्रै छ भनेपछि शंका लागेर मेसिनले स्क्यान गर्दा ठूलो परिमाणमा भारतीय रुपैयाँ फेलापर्यो’–भन्सार प्रमुख अर्यालले भने ।
पक्राउ परेका बज्राचार्य बिहान साढे ७ बजे नै भारतबाट नेपाल प्रवेश गरेका थिए ।
भन्सार प्रमुख अर्याललकाअनुसार बरामद गरिएको रकमसहित बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
पछिल्लो समय नाकामा जडान गरिएको एक्सरे मेसिनको सहायताबाट चोरी–पैठारी र अवैध सामान भित्रनेक्रमलाई रोकेको भन्सार कार्यालयको दाबी छ ।