
इलाम : इलाम र पाँचथरको सीमा राँके बजारमा भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
इलामको देउमाई नगरपालिका–१ तर्फको राँके बजारमा ९ बजे सुरु भएको आगो पाँचथरको फिदिमबाट आएको दमकल, प्रहरी र स्थानीयको निरन्तर प्रयासले नियन्त्रणमा आएको हो ।
स्थानीय ठालुमान श्रेष्ठको घरबाट सुरु भएको आगलागीबाट अन्य दुई वटा घरहरु समेत जलेको स्थानीय महेश बस्नेतले जानकारी दिए । आगलागीबाट तीन वटा किराना पसल, एउटा कपडा पसल र एउटा मेडिकल पसल क्षति भएको छ ।
प्रहरी र स्थानीयले सुरुदेखि नै नियन्त्रणको प्रयास गरेपनि फिदिमबाट दमकल आएपछि आगलागी नियन्त्रण हुन सकेको थियो । राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा समस्या भएको थियो ।
यसअघि आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको थियो ।
इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको थियो । पाँचथरको फिदिमबाट भने केही समय ढिला गरी दमकल घटनास्थल पुगेको थियो ।
आगो के कारणले लागेको हो भन्ने कुरा खुल्न सकेको छैन । घटनामा कुनै मानवीय क्षति भने हुन नपाएको भए पनि भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।


























































