इलाम : स्वाद र बास्नाका लागि लोकप्रिय टिमुरको बजारका लागि युरोपेली मुलुकमा परीक्षण सुरु भएको छ। इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका गाउँबाट संकलन गरेको टिमुरको गुणस्तर परीक्षणका लागि फ्रान्स पठाइएको इलामको टिमुरको प्रवद्र्धनका लागि क्रियाशील हिमालयन बायोटेक प्रालिका प्रमुख वनस्पतिविद् खिलेन्द्र गुरुङले जानकारी दिएका छन्।
उनका अनुसार इलाममा पाइने सिलटिमुरको बजारका लागि गत वर्षदेखि परीक्षण सुरु गरिएको हो। वर्षायाममा फल्ने टिमुर सुकाउन उपयुक्त प्रविधिको अभावमा गत वर्ष गरिएको परीक्षणमा राम्रो परिणाम नआएपछि यसपटक स्थानीयस्तरमै टिमुर सुकाएर परीक्षणका लागि पठाएको गुरुङले बताए।
महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्म उचाइको खुला पाखोमा पाइने टिमुर अचार, तेललगायतका लागि प्रयोग हुँदै आएको छ। युरोपमा शृंगारका सामग्री र सुगन्धित सामान बनाउन उपयोग गरिने टिमुरको गुणस्तर राम्रो भए आउँदो वर्षदेखि व्यावसायिक रूपमा निर्यात सुरु गरिने गुरुङले बताए। स–साना, राता, ४ देखि ५ मिलिमिटर व्याससम्मका दाना लाग्ने टिमुरको फलको स्वाद तीतो, पिरो र पर्पराउने हुन्छ।
किसानहरूले यसको व्यावसायिक खेतीको सुरुवात नगरे पनि परीक्षण सफल भए आउँदो वर्षदेखि यसको व्यावसायिक खेती सुरु हुने गुरुङले जानकारी दिए। बोट ठूलो नै हुने भएकाले करिब एकदेखि तीन मिटरको दूरीमा ठाउँअनुसार लाइन मिलाएर ३० सेन्टिमिटर खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोप्ने गरिन्छ।
युरोपमा शृंगारका सामग्री र सुगन्धित सामान बनाउन नेपाली टिमुरको माग हुने देखिएको छ।
यस पटक टिमुर सुकाउन डायर हाउस निर्माण गरेर काम सुरु गरिएको स्थानीय युवराज पिसीले जानकारी दिए। उनले भने, ‘टिमुरको फल पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ।’ किसानहरूबाट यस वर्ष प्रतिकिलो एक सय रुपैयाँमा टिमुर संकलन गरेको उनले बताए। नेपालमा वायुसमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजीर्ण र हैजा इत्यादि रोग लागेमा टिमुरको दाना वा धुलो प्रयोग गर्ने गरिन्छ।
टिमुरको व्यावसायिकता र खेतीको सम्भावना अध्ययन गर्न फ्रान्सकी परामर्शदाता मेरीले इलाम नगरपालिकाको माइपोखरी क्षेत्र, सन्दकपुर गाउँपालिकाको भ्रमण गरेकी थिइन्। उनले यस क्षेत्रमा टिमुरको व्यावसायिक खेती गर्न सकिने प्रतिक्रिया दिएकी थिइन्।annapurnapost