कृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिरहरुमा भीड

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौं गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक मान्यता रहेको छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद पनि भएको छ ।

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार