सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइप्रति गुनासो

काठमाडौं : सरकारी विद्यालयहरुमा अनुसन्धान नै नगरी अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।

शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ थाल्दा विद्यार्थीको सिकाइ क्षमता झन् खस्कने तर्क गरे ।

ज्ञानोदय विद्यालयकी शिक्षिका अन्जु लामाले अंग्रेजी भाषा नबुझ्ने विद्यार्थीले राम्रोसँग लेख्न–बोल्न नै नसक्ने र त्यसले उनीहरुमा नकारात्मक असरपार्ने तर्क गरिन् ।

सरकारी विद्यालयमा अंग्रेजी र नेपाली दुई माध्यमबाट पढाइ भइ दुुई किसिममा विद्यार्थी उत्पादन हुँदा समस्या भएको विद्यालय प्रमुखहरुले बताएका हुन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले निःशुल्क शिक्षा भनेको विद्यालयमा दिइने शिक्षामामात्र पैसा तिर्नुनपर्ने भन्दै अरु खर्च भने व्यहोर्नुपर्ने बताए ।

विद्यालय भर्ना, पुस्तक र मासिक शुल्कमात्र निःशुल्क हुने हुँदा खानै नपाएका, घर–परिवार नै नभएका बालबालिकालाई विद्यालयसम्म ल्याउनु चुनौती बनेको उनले उल्लेख गरे ।

यस्तै, उच्चस्तरीय शिक्षा आयोगका सदस्य श्याम श्रेष्ठले दुर्गम र सुगमका विद्यालयमा एकै मापदन्डमा पठनपाठन गराउनुपर्ने बताए ।

शिक्षाविद् एवं आयोगका सदस्य डा. विद्यानाथ कोइरालाले अरु देशलाई हेरेर निःशुल्क शिक्षाको घोषणा गर्दैमा सबैको पहुँचसम्म शिक्षा नपुग्ने बताए ।

कार्यक्रममा उच्चस्तरीय शिक्षा आयोगका सदस्यहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेसम्बन्धी सुझाव सरकारलाई दिन सहभागीहरुले आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार