ताप्लेजुङ : दुई झापाली क्लब रेड स्टार र न्यू स्टार ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्त दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंलाई २–१ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले रेड स्टारसँगको भेट पक्का गरेको हो ।
यसअघि बिहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलबाट रेड स्टार क्लब झापा प्रतियोगीताको फाइनलमा प्रवेश गरिसकेको छ । अब न्यू स्टारले शनिबार रेड स्टारसँग फाइनल खेल्नेछ ।
सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती गोल भने चर्च ब्वाइजले गरेको थियो । खेलको ३८ औं मिनेटमा बुद्धिमान राईले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा चर्च ब्वाइजका रमेश डंगोलले आत्माघाती गोल गरेपछि झापा बराबरीमा पुग्यो । चर्च ब्वाइजले खेल अवधीभर झापालाई केही दबाबमा राखेपनि इन्जुरी समयमा सम्हालिन नसक्दा उपाधी रक्षा गर्नबाट चुक्यो । खेलको ९३ औं मिनेटमा झापाका क्याप्टेन सनम राईले फ्रिकिक मार्फत् गोल गर्दै टिमलाई फाइनलमा पु¥याए ।
खेलको म्यान अफ दि म्याच झापाका विशाल दर्जी घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । १० टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।