रेड स्टार क्लब झापा फाइनलमा प्रवेश

ताप्लेजुङ : रेड स्टार क्लब झापा ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमीफाइनलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा उपाधी नजिक पुगेको हो ।

सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा गोल हुन नसकेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा झापाका भुषण सुब्बा, कर्ण लिम्बु, पदम तामाङ र विवेक पौडेलले गोल गरे । राष्ट्रिय जागृती क्लब इटहरीका तर्फबाट रमेश राजवंशी, उमेश कार्की र रोमन लिम्बु मात्रै गोल गर्न सफल भए । दिपेन तामाङ र तिर्थ बस्नेतको प्रहार बाहिरीएको थियो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने राष्ट्रिय जागृती क्लब इटहरीले लिएको थियो । इटहरीका तीर्थ बस्नेतले खेलको पाचौँ मिनेटमा नै पहिलो गोल गरे । पहिलो हाफमा झापालाई दबाबमा राखेपनि दोस्रो हाफमा राष्ट्रिय जागृती सम्हालिन सकेन । ७६ औं मिनेटमा झापाका निशान लिम्बुले गोल गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि झापाले राष्ट्रिय जागृतीलाई दबाबमा राखेको थियो ।

खेलको म्यान अफ दि म्याच झापाका गणेश हेमरन घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । रेड स्टार क्लब झापाले अब शुक्रबार हुने दोस्रो सेमीफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ । दोस्रो सेमीफाइनलमा न्यू स्टार क्लब झापा र चर्च ब्वाइज क्लब काठमाडौं प्रतिस्पर्धा गर्दैछन् ।

१० टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार