इलाम : मेची राजमार्गमा पर्ने इलाम सडकखण्ड अन्तर्गतको माइखोलादेखि चुरेघाँटीसम्मको सडक समयमै मर्मत हुन नसक्दा यात्रुलाई सकस भएको छ ।
डेढ वर्षअघि ३ करोड २२ लाख रुपैयाँमा ठेक्का लागे पनि यो सडकको मर्मत हुन नसकेको हो । सडकको बीचबीचमा परेका खाल्डाखुल्टी जस्ताको जस्तै छन् ।
गत आर्थिक वर्षभित्रै काम सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको वेवास्ताका कारण नागरिकले दुःख पाउँदै आएका छन् ।
गत जेठ र असारमा निर्माण व्यवसायीले सडक टालटुल गरे पनि अहिले पुनः उस्तै भएको छ ।
सडक मर्मतको नाममा धेरै लगानी हुँदा पनि सुधार नभएको गुनासो स्थानीयको छ ।
मेची राजमार्गको माईखोलादेखि चुरेघाँटीसम्मको साढे १० किलोमिटर र भित्रि राजमार्ग बिब्ल्याँटेदेखि माईपोखरी बाटोको ८ सय मिटर कालोपत्रे भएको स्थानमा ३ करोड २२ लाख रुपैयाँमा २०७५ असार मसान्तसम्ममा मर्मत सम्भार गरिसक्ने गरि सूर्य केएम जेभी निर्माण ब्यवसायी कम्पनीले २०७३ साल माघ १० गते सडक कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।