बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदै, मोदी पनि आइपुगे

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

दुई दिने शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौं आउने क्रम जारी छ ।

सम्मेलनमा भाग लिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।

उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमै स्वागत गरे । केहीबेरमै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद पनि काठमाडौं आइपुग्दै छिन् ।

त्यसैगरी थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि आजै काठमाडौं आउँदै छन्  ।

यसअघि हिजो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक आइसकेका छन् । म्यानमारका राष्ट्रपति विन मिन्ट भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।

बिमस्टेकको शिखर सम्मेलन अपराह्न काठमाडौंमा सुरु हुने छ ।

सम्मेलनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्न व्यापार, उर्जा, यातायातलगायतका विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने भएको छ ।

सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा उर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायतका विषयमा कनेक्टिभिटी बनाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार