काठमाडौं : आज बिहानै सरकारी टोलीले बल्खुस्थित तरकारी बजारमा सरकारले छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेरको हो ।
विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीले एकजना व्यापारीलाई पक्राउ समेत गरेको छ । सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि केहीबेर झडप समेत भएको थियो ।
व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र नाराजुलुस गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्रायलय स्रोतले जनायो ।
साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । अनुगमन टोलीले दिएको जानकारी अनुसार बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।