धनकुटाका स्थानीय तह करका विषयमा आलोचित, स्थानीयको चर्को विरोध

धनकुटा : धनकुटाका पुराना केही नगरपालिकबाहेक अन्य स्थानीय तह करको विषयमा आलोचित बनेका छन् ।

संघीयत प्रणालीअनुसार स्थानीय तहले आ–आफ्नो अधिकार प्रयोग गरे पनि करको विषयमा भने नागरिक असन्तुष्ट बनेका छन् ।

यतिबेला देशभरीका अधिकांश स्थानीय तहबाट करसम्बन्धी विवाद उठिरहेको छ । त्यस विवादबाट धनकुटा जिल्ला पनि अछुतो रहेन ।

धनकुटा जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेका केही नगरपालिका बाहेकका अन्य स्थानीय तहमा कर निर्धारणको विषय विवादित र आलोचित बनेको छ ।

अस्वाभाविक र अनपेक्षित रुपमा कर उठाउन थालिएपछि स्थानीयवासी असन्तुष्ट छन् ।

धनकुटाको साँघुरीगढि गाँउपालिका ८ भेडेटारमा गत वर्ष २ सय रुपैयाँ कर तिरे पुग्थ्यो भने अहिले १२ हजार तिनुपर्ने भएको छ ।

अहिल्ला वर्षका तुलनामा कर बढ्ने अनुमान गरिएपनि यसरी अस्वाभाविक रुपमा कर बढ्ने कुराबाट आफू अचम्मित परेको र यसले निकै समस्या पारेको स्थानीय किरण राईको गुनासो छ ।

यस्तो समस्या साघुरीगढी गाँउपालिकासहित नयाँ गाँउपालिका र नगरपालिकामा बढी  देखिएको छ ।

तर धनकुटा जस्ता पुराना नगरपालिकामा भने घर बहाल कर २ प्रतिशतबाट १० प्रतिशत वृद्धि भएभन्दा बाहेक अन्य कुनै किसिमका करमा अस्वाभाविक वृद्धि गरिएको छैन ।

पुराना नगरपालिकामा करको अभ्यास पहिले देखि गरिएपनि नयाँ नगर र गाँउपालिकामा यो अभ्यास पहिलो पटक भएकाले समस्या भएको धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक रमेश अमात्य बताउँछन् ।

नयाँ स्थानिय तहले मापदण्ड र जनपक्षीय रुपमा कर निर्धारण नगरी हचुवाको भरमा निर्धारण गरेकोले असन्तुष्ट बन्नुपरेको स्थानीयको गुनासो छ ।

कर निर्धारण गर्दा विज्ञको समुहबाट छलफल गरी गर्नुपर्ने प्रावधान भएपनि जनप्रतिनिधिले स्वैच्छिक रुपमा कर असुली गरेकाले कर पुननिर्धारण गर्नुपर्ने साघुरीगढि गाँउपालिकाका स्थानीय जितेन्द्र रुम्दाली राईको सुझाव छ ।

धनकुटाका केही स्थानीय तहमा करसम्बन्धी चरम विवाद देखिएकोले जनमैत्री किसिमले सबैको सल्लाहमा कर निर्धारण गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार