दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग

काठमाडौं : साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई बचाउन मगर संघ साउदी अरबको पहलमा साढे सात लाख रुपैयाँ संकलन भएको छ । दिलबहादुरको लागि अदालतले तोकेको ब्लडमनी तिरेर साउदी जेलबाट निकाल्न मगर संघ साउदी अरबको पहलमा संकलित सात लाख ५० हजार रुपैयाँ नेपाल मगर संघले बिहीबार ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त रकम मगर संघका अध्यक्ष नवीन रोकामगरले ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेका हुन् । मगर संघको पहलमा साउदी अरबमा क्रियाशील एनए मिडिया प्रा.लि., नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट), प्रवासी मिलन एकता समाज, तमु धीं र काभ्रे सेवा समाज लगायतले सो रकम संकलन गरेका हुन् । साउदी अरबबाट विभिन्न संघ संस्थाहरुले संकलन गरेका साढे आठ लाख रकम मूल समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।

यसै गरी मगर संघ, कतार शाखाले दिलबहादुर घर्ती र कुमार रानाका लागि २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले दिलबहादुरको जीवन रक्षाका तोकिएको ब्लडमनी रकम करिब उठिसकेको जानकारी दिए । दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । पत्रकार सम्मेलनमा अध्यक्ष रोकाले दिलबहादुरको लागि रकम उठाउन अब रोक्ने जानकारी गराउँदै उनको नाममा उठिसकेको रकम तुरन्तै बुझाउन आग्रह गरे ।

यसैगरी गोरखाका कुमार रानाका लागि अदालतले तोकेको ब्लडमनी पनि करिब पुगिसकेको जानकारी दिए । ‘हामीले रोल्पाका दिलबहादुर घर्ती र गोरखाका कुमार रानाका लागि साउदी अरबको अदालतले तोकेको ब्लडमनी उठाउन सफल भएका छौँ । मगर संघ सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छ’, अध्यक्ष रोकाले भने, ‘अब उहाँहरुको लागि रकम संकलन गरिने छैन ।’

पत्रकार सम्मेलनमा ब्लडमनी संकलन अभियान मूल समितिका संयोजक दिपेश पुनले दिलबहादुरको जीवन रक्षाका लागि रकम संकलन गर्ने अभियान अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले दिलबहादुरको नाममा संकलित रकमहरु तुरुन्त मूल समितिलाई बुझाउन आग्रह गरे । उनले केहीं दिनमै संकलित रकमको बारेमा केहीं दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने र सो रकम परराष्ट्र मन्त्रालयमार्फत साउदी अरब पठाईने बताए । ‘हामीले यो अभियानको सुरुवात गर्दा भनेका थियौँ, दिलबहादुर घर्तीलाई हामी जसरी पनि मुत्यृदण्डबाट बचाएर, जेलबाट नेपाल ल्याउने छौँ,’ उनले भने, ‘अब केहीं दिन, केहीं महिनामा दिलहादुर घर्ती घर फर्कनु हुनेछ ।’ उनले सहयोगी सबैलाई धन्यवाद समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार