राँकेमा पहिरो खस्दा एम्बुलेन्समा क्षति, बजार हिलाम्मे

युद्धबहादुर बोहोरा

इलाम : मेची राजमार्ग अन्तरगत इलामको देउमाइ नगरपालिका-१ र पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ राँके बजारमा शुक्रबार साँझ पहिरो खस्दा एम्बुलेन्सलाई क्षति पुगेको छ ।

दिउँसोदेखि लगातार भारी वर्षाका कारण पहिरो खस्दा एम्बुलेन्समा क्षति पुग्नका साथै लेदोले बजार हिलाम्मे भएको छ । देउमाइ नगरपालिका -१ राँकेमा गत आर्थिक वर्षदेखि ट्याक्सी पार्किङ निर्माणको लागि सम्याउने कार्य सुरूवात गरिएको थियो ।

मुसलधारे पानी परेपछि निर्माणाधीन पार्किङ क्षेत्रमा पहिरो खस्‍न गई सडकको छेउमा पार्किङ गरि राखिएको एम्बुलेन्स पुरिएको थियो । राँके बहुउद्देश्यीय सहकारी संस्थाको मातहतमा रहेको मे १ च १६०५ नम्बरको एम्बुलेन्स जेसिवीको सहायताले बाहिर निकालेपछि स्टार्ट नभई इन्जिनमा समस्य भएको राँके केशी होटेलका प्रोपाइटर सागर खड्काले जानकारी दिए ।

नाली पुरिएरका कारण सडक र बजार क्षेत्र हिलाम्मे भएको साथै मिठाई पसल, मोबाइल पसल र अन्य थुप्रै पसलहरुमा लेदो पसेकोले आवतजावत गर्ने कठिन भएको स्थानीय गणेश फुयालले बताए । नाली छेउमा ठुला ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामाग्री राखेकोले नाली थुनिएको बजारबासी बताउँछन् ।

पहाडको भिरालो भू-भागमा रहेको यो बजार तीब्र गतिमा शहरीकरण हुन थालेपछि प्राकृतिक प्रकोपको चुनौती पनि त्यतिकै छ । स्थानीय व्यापारी छबि खतिवडा भन्छन् ‘केहि वर्षअघि आगलागी हुँदा करोडौंको क्षति भएको थियो भने बजारमा घडेरी सम्म्याउनने क्रममा पनि पहिरो खसेर अहिलेको जस्तो हिलाम्मे समस्या भोग्नु पर्‍यो थियो ।’ भू-क्षयको जोखिमलाई समयमै सावाधानी नअपनाए मानवीय क्षति समेत हुने उनको भनाइ छ । मेची राजमार्गमा रहेको राँके बजार पर्यटको उत्कृष्ट गन्तव्य साथै व्यापारीक केन्द्र समेत मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार