माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा तीन दिने निशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
स्थानीय आदिवासी जनजातिहरुलाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले तालिमको आयोजना गरेको हो ।
तालिममा स्थानीय २८ जना आदिवासीहरुको सहभागीता रहेको छ । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय कार्य समिति कोषाध्यक्ष एवम् रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, कान्तिपुर दैनिकका उपसम्पादक विप्लव भट्टराई र नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले प्रशिक्षण दिइरहेका छन् ।
आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फोनिजका संघीय कार्यसमिति कोषाध्यक्ष अमरध्वज लामा, ३ नम्बर वडा अध्यक्ष मैतराज राई, प्रशिक्षक विप्लव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिम सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
यसअघि फोनिजले गत असार १७ देखि १९ सम्म इलाम सदरमुकाममा पनि आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको थियो ।

























































