ठेकेदारको लापरवाहीले सडक निर्माणमा ढिलाई

नयाँ बुलन्द

इलाम : उन्‍नती परियोजना अन्तर्गत इलाममा सञ्चालित चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिमसम्ममा सक्नेगरी निर्माण थालिएका सडकका काममा ढिलाई भएको पाइएको छ । जिल्लाका १० स्थानिय तहका विभिन्न स्थानमा परियोजना अन्तर्गत निर्माण हुँदै आएका नौवटा सडकको काम चालु आवमा सकिनेमा शंका उत्पन्न हुन थालेको हो ।

परियोजना अन्तर्गत ९ वटा सडकमध्ये दुई वटा सडकको निर्माण कार्य अत्यन्तै सुस्त गतिमा रहेको इलाम सदरमुकाममा आज सम्पन्न एक कार्यक्रमका सहभागिले बताए । जिल्लाका नवमी जितपुर आमबोटेको १० प्रतिशत र देऊराली फलाटे कोलबोटे सडक खण्डको १५ प्रतिशत मात्र काम भएको पाइएको छ ।

यी सडकलाई समयमा नै काम सक्नको लागी ४५ दिनको समय थप गरिएको छ । यी दुई सडकले काम नै नगरेका कारण नवमी–जितपुर–आमबोटे जोड्ने सडकका लागी छुट्याइएको कुल ९४ लाख ९० हजार ३३ रुपैया ४९ पैसा र देऊराली–फलाटे–कोलबोटे जोड्ने सडकका लागी छुट्याइएको ७३ लाख ३१ हजार ९ सय ८३ रुपैया ४७ पैसा बजेट फ्रिज हुने अवस्थामा पुगेको जिल्ला प्राविधिक कार्यलयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

निर्माण भइरहेका नौ वटा सडकमध्ये सबै भन्दा बढी गाग्रेभञ्याङ्ग जीतपुर सिद्धिथुम्का सोयाक चिसापानी सडक खण्डको काम भएको छ भने सबै भन्दा कम नवमी जितपुर सडक खण्डको भएको पाइएकोे छ । सबै भन्दा बढीमा ७० प्रतिशत र कममा १० प्रतिशत मात्र काम भइसकेको पाइएको छ । निर्माण ब्यबसायिले निर्माण कार्य ढिलो गर्दा समग्र जिल्लाको बिकासमा असर पुग्ने भएकाले समयमा काम सक्न प्रदेश सभा सदस्य रामबहादुर रानाले बताए । आलटाल गरेर काम ढिलाई गर्ने निर्माण ब्यबसायिलाई कार्वाहि गर्न सकिने भन्दै काममा ढिलाई नगर्न उनले निर्देशन दिए ।

कृषि र सडक निर्माण तथा स्तरउन्नतीको क्षेत्रमा काम गर्दै आएको उन्नती परियोजनाले परियोजना सकिन केहि समय बाँकि रहँदा अहिलेसम्म कृषि र पूर्वाधार अन्तर्गत सडकमा गरेका कामको प्रगति तथा समिक्षा गरेको थियो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा इलामका चारवटै प्रदेश सभाका सदस्य, नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको थियो । उन्नती परियोजनाले जिल्लामा कृषि दुग्ध डेरी, चिया, अलैंची र अदुवा खेतीका लागि उद्योग स्थापना लगायतका कार्यक्रममा करोडौं रुपैंयाँ लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार