
नयाँ बुलन्द
इलाम : मुअब्जा नपाएको भन्दै स्थानीयको अवरोधपछि रोकिएको काबेली कोरिडोरको काम अझै अघि बढ्न सकेन । स्थानीयको बासिन्दाको अवरोधका कारण निर्माणाधीन कावेली कोरिडोरको काम १० महिनादेखि ठप्प छ ।
इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काका बासिन्दाले आफ्नो जग्गाको मुअब्जा नपाएको भन्दै गठ जेठदेखि काबेली कोरिडोरको माममा अवरोध गरेका छन् । कोरिडोरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन विपरित एक सय ३२ केभी ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै सिद्धिथुम्काबासीले अवरोध गरेका थिए ।
अवरोधपछि सिद्धिथुम्काको पञ्चमी बजार आसपासका क्षेत्रमा कोरिडोरको टावर गाड्ने, तार टाँग्नेलगायतका काम ठप्प छ । कोरिडोरको काम रोकिएपछि टावरका लागि आवश्यक सामग्री अलपत्र छन् । त्यस क्षेत्रमा कोरिडोरको ११ वटा टावर गाड्न बाँकी छ ।
काम ठप्प हुँदा निर्माणाधिन काबेली कोरिडोरको एक सय ३२ केभी राष्ट्रिय प्रशारण लाइन विस्तारमा प्रत्यक्ष प्रभाव परेको छ । इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमकाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न समेत ढिलाई हुने भएको छ । प्रशारण लाइन विस्तारको अवरोधले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानका जलविद्युत आयोजनाद्वारा उत्पादित जलविद्युत खेर गइरहेको छ ।
झापाको दमकबाट इलाम हुँदै पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर राष्ट्रिय प्रशारण लाइनको इलामको गोदकमा सब स्टेशन निर्माण पूरा भएपनि इलामबाट पाँचथरसम्मको हाइटेन्सन टावर निर्माण र तार विस्तारको काम ढिलाई भइरहेको छ ।
स्थानीयले भने आफ्नो माग पूरा नभएसम्म कुनैपनि हालतमा टावर गाड्न नदिने बताउँदै आएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिर्पाेट) देखाएर प्रतिवेदनमा उल्लेख भए अनुसार काम हुनुपर्ने, टावर पर्ने क्षेत्रको जग्गाको उचित्त मुआब्जा, पुर्नवास, रोजगारी र सतप्रतिशत क्षतिपूर्ति दिए कोरिडोरको काममा अवरोध नगर्ने स्थानीय बासिन्दाको भनाई छ ।
काबेली कोरिडोरले आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै संघर्ष समिति बनाएर बस्ती भन्दा बाहिरको क्षेत्रबाट टावर लैजान सम्बन्धित पक्षलाई अनुरोध गर्दै आएका छन । ‘राज्यको व्यापारको नाममा कोरिडोरले हामीलाई झुक्याएर व्यतिगत जग्गामा टावर गाडेर घरको छानामाथि विद्युतको तार टाँग्दै सुकुम्बासी बनाउन लागेका छन्’ संर्घष समितिका अध्यक्ष अगमसिंह मगर भन्छन्, ‘हामी विकास विरोधी होइनौं, तर नागरिकलाई विकासको नामा सुकुम्बासी बनाउन पाइदैन । बस्तीभन्दा बाहिरबाट लैजाउन् हाम्रो अवरोध छैन ।’
संघर्ष समितिका सचिव सुवास तामाङले कोरिडोरले स्थानीय प्रभावितको बारेमा कोरिडोरलाई जनाकारी गराउँदा पनि जबरजस्ती टावर गाड्ने काम गरेकोले कोरिडोरको काम ठप्प बनाएर आन्दोलन गर्न बाध्य भएको जानकारी गराए ।
प्रभावित स्थानीयलाई जानकारी नै नगराई घरजग्गामा टावर गाडेर तार टाँग्न लागेको स्थानीय सञ्चमाया तामाङले बताइन् । आफ्नो भएको पाँच रोपनी जग्गाको बीचमा भएर तार जाने र यसले पु¥याउने क्षतिको बारेमा कोरिडोरले जानकारी नगराई आयोजना पूरा गर्न लागेको बताइन् । ‘कोरिडोरले झुक्याएर म जस्ता निमुखालाई सुकुम्बासी बनाउन लागेको छ’ तामाङले गुनासो पोखिन् ।
यता आयोजनाले पनि सिद्धिथुम्कामा स्थानीयको अवरोध कायमै रहेको स्वीकार गरेको छ । आयोजनाको प्रतिवेदन अनुसार नै काम भइरहेको दावी गर्दै आयोजना प्रमुख द्विपेन्द्रराज द्विवेदीले आयोजनको काम सिद्धिथुम्का क्षेत्रमा रोकिएको स्वीकार गरे । उनले स्थानीय बासिन्दालाई उचालेर केही व्यक्तिले आयोजनाको काम रोकेको आरोप लगाउँदै प्रभावितलाई राज्यको नीति अनुसार दिने सेवा सुविधा दिन तयार रहेको बताए ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय संर्घष समितिले भने बजार र मानव बस्तीलाई जोगाएर अन्तै सार्न माग गर्दै आएका छन् । आयोजनाले यसो गर्न नसके उचित मुआब्जा र सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, टावर र तार कसको घर जग्गामा पर्छ यकिन गरेर नापी गर्नुपर्ने बताउँदै आएको छ । कोरिडोरले भने सार्न नसकिने आयोजना प्रभावितलाई उचित मुआब्जा र क्षतिपूर्ति दिने बताउँदै आएको छ ।
विश्व बैंकको आर्थिक सहयोग दुई अर्ब ८५ करोड रुपैयाँ लगातमा निर्माणाधिन एक सय ३२ केभीको प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी जगबर ओभरसिज र स्तरजेभी प्राइभेट लिमिटडले गरिरहेका छन् ।

























































