आस्क किङ फनवर्ड मा आउने

नयाँ बुलन्द

झापा : झापाको अर्जुनधारामा रहेको ‘द फन वर्ल्ड’मा पहिलो पटक चर्चित भारतीय कलाकार ल्याएर लाइभ कन्सर्ट गरिने भएको छ । आन्तरिक र बाह्य पर्यटनको गन्तव्यको रुपमा पहिचान बनाएको पोजेटिभ मिडिया इभेन्टले यसअघि स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै आएको थियो ।

‘बलिउडका अहिलेका जल्दाबल्दा गायक ‘आस्क किङ’लाई झापामा उतार्न सक्ने चानचुने कुरा होइन’, आयोजक संस्थाका गोपाल पोखरेलले भने, ‘यसका लागि हामीलाई नाजी इन्टरटेन्मेन्टले सहयोग गरेको छ ।’ कार्यक्रम माघ १ गते हुने पक्का भएको छ ।

उनले आस्क किङबाहेक नेपालका चर्चित पप गायक दिपक बज्राचार्यको समेत प्रस्तुति रहने जानकारी दिए । कार्यक्रमको सञ्चालन मिस नेपाल २०११ मलिना जोशीले गर्ने तय भएको उनले बताए ।

कन्सर्टका लागि फन वर्ल्डको कम्पाउण्डभित्र स्टेज बनाइने भएको छ । लगभग ३ हजार दर्शकले मनोरञ्जन लिन सक्ने क्षमता रहेको कार्यक्रम स्थल तयार गरिने आयोजक संस्थाका अर्का सदस्य समिर मोदीले जानकारी दिए । उनले कार्यक्रमका लागि काठमाडौँबाट साउण्ड सिस्टम, भारतको कोलकात्ताबाट एलइडी डिस्प्ले, इटहरीको गरुड सेक्युरीटिज सर्भिसबाट सुरक्षागार्ड ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

स्थानीय आयोजक पोजेटिभ मिडिया इभेन्टसँगै फेम नेपाल, नाजी इन्टरटेन्मेन्टको आयोजन रहेको कार्यक्रम सम्पन्न गर्नका लागि २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रममा भारतको पश्चिम बंगाल, सिक्किम, नेपालका काठमाडौँ, विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड लगायतका सहरबाट आउने दशकले मनोरञ्जन लिने आयोजकले जनाएको छ ।

‘भारतका धेरै दर्शकले हामीसँग सम्पर्क राखेर टिकट बुक गर्न थालेका छन्’, मोदीले भने, ‘यो अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम रहनेमा हामी विश्वस्त छौं ।’ आयोजकले यस कार्यक्रमलाई अवसर र चुनौतीको रुपमा लिएको जनाएको छ ।

आस्क किङले बडिगार्ड फिल्मको आइ लव यु, हाफ गर्ल फण्डको वारिस, ब्याङ ब्याङको मेहरवान बोलको लगायतका चर्चित गीत गाएका छन् । रोमान्टिक र सेन्टिमेन्टल गीत गाउने आस्क किङले पुस २७ गते काठमाडौँमा कन्सर्ट गरेपछि झापा आउने भएका हुन् ।

साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम ३ घण्टाको रहने आयोजकले जनाएको छ । कार्यक्रमको प्रचारप्रसारको लागि लोकप्रिय ब्याण्ड ‘मन्त्र’ले बिर्तामोडमा सांगीतिक प्रस्तुति आयोजना गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार