राजनीतिमा युवा आरक्षण

चन्द्रभूषण साह

हरेक नीतिको मूल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ तर, यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मूल संगठनमा युवाको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शून्य छ । तर, कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा युवाको छ । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा नेतृत्वदायी सक्रिय सहभागितादेखि बलिदानीमा समेत युवा शक्तिको निर्णायक भूमिका छ ।

अर्थात् जनअधिकार प्राप्तिका लागि मुलुकमा अहिलेसम्म जति आन्दोलन भए त्यसमा शहादत प्राप्त गर्ने तथा जेलनेल भोग्नेमध्ये ९० प्रतिशतभन्दा बढी युवा नै छन् । युवाले परिवर्तनको मूल संवाहकको रूपमा आफ्नो भूमिका अग्रपंक्तिमा दर्ज गराएका छन् तर, परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाइन्छ । चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, विकास र समृद्धि जेसुकैको नाममा किन नहोस् ।

जनआन्दोलन ०६२–०६३ को उपलब्धिस्वरूप मुलुकले समानुपातिक समावेशी शासनपद्धति अंगिकार गरेको छ । पछाडि परेका तह तप्काका लागि केही हदसम्म यो आरक्षण पनि हो । वर्तमान समयमा नेपालमा आरक्षण शब्दसँग नै एलर्जी हुने विद्वान्, सामन्ती मनोवृत्तिका विज्ञ पनि छन् । उनीहरूलाई केही भन्नु छैन तर, काम गर्ने कालु मकै खाने भालु भनेजस्तै राष्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिमायती, जोस र जाँगरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अँगाल्न सक्ने र भविष्यलाई नयाँ सोच र कार्यदिशा प्रदान गर्न सक्ने देशको अग्रगमनका लागि कुल क्रियाशील जनसंख्याको लगभग ५० प्रतिशतभन्दा बढी रहेको उर्वर युवा शक्तिलाई राष्ट्र निर्माणको मूल प्रवाहमा नल्याई उज्जवल भविष्यको परिकल्पना गर्नु मुस्किल मात्र हैन लगभग असम्भव नै देखिन्छ ।

नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी छन् । जनवर्गीय संगठनका रूपमा युवाको प्रयोग मात्रै गर्ने गरिएको छ । विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट विचार गर्दा राष्ट्रको माथिलो (उच्च) ओहदामा जस्तैः राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, संसद् जस्ता गरिमामय, जिम्मेवार, अधिकार सम्पन्न, अर्थपूर्ण र प्रभावशाली क्रियाशील पदहरूमा युवालाई खुलेआम घोषितरूपमा नै निषेध गरेको तीतो यथार्थ हामीसामु छरपष्ट नै छ । पछिल्ला केही वर्षयता तुलनात्मकरूपमा युवाको सहभागितामा झिनो वृद्धि भएको छ । यो वृद्धिको मुख्य कारण विभिन्न आन्दोलनको माग, चर्को जनदबाब, युवाहरूको सोच र कार्यशैली प्रतिको बढ्दो लोकप्रियता हो । जनविश्वास र पार्टीहरूको संगठन निर्माणमा भएको विवशतालाई सकरात्मक सुरुआतको रूपमा भने लिन सकिन्छ तर, यसबाट सन्तुष्ट भने कदापि हुन मिल्दैन ।

नेपाली राजनीतिमा युवा आरक्षणको आवश्यकता महसुस हुनुको मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच विचार र अभ्यासको फलस्वरूप उत्पन्न वास्तविक समाजिक र राजनीतिक परिस्थिति हो । किनभने युवालाई अवसर दिने मामिलामा घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ । परम्परागत सोच विचारको अभ्यास भएको हाम्रो समाजमा युवालाई एउटा अदक्ष, कमजोर, पिछ्लग्गु, अपरिपक्व, होस नभएको, सोझो र तुच्छ जनावर ठानिन्छ । बूढो गोरुले गाई ओगटेजस्तै पद ओगटिरहेका पार्टीका वृद्ध नेताहरूले युवामा आस, त्रास र चिन्ता पैदा गरी आफ्नो वर्चस्व स्थापित गरिरहेका छन् । युवाको सोच, चिन्तन शक्ति र सामथ्र्यलाई मोनोपोलाइजेसन गरी संकुचित र कमजोर बनाइन्छ्र तर, वास्तविकतामा त्यसको ठीक विपरीत छ ।

केही अपवादबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्नो जीवनको उद्देश्यको सोच युवा अवस्थामा नै तय गरेको देखिन्छ । प्रतिकूल अवस्थाको वावजुद नयाँपनाको प्रयोग गरी केही युवाले उदहारणीय कार्यबाट विश्वलाई चकित तुल्याउन सफल भएका छन् । केही युवा समाजको मोनोपोलाइजेसन, साथसहयोग, सद्भाव र विश्वासको कमीले गर्दा पछिल्लो समयसम्मको निरन्तरताले आफूलाई बूढेसकालमा सही सावित गर्न सफल भएका छन् । केही युवा पूर्णरूपमा मोनोपोलाइजेसनमा परि आफ्नो नवीन सोच र सामथ्र्यको भ्रूण हत्या गर्न बाध्य भएको अतीतलाई समाजले खासै लेखाजोखा राख्ने नगरेको कुण्ठित यथार्थ हामीसामु छ ।

उदहारणका लागि हाल नेपाललगायत विश्वका केही अवसर पाएका वास्तविक युवा नेता र उद्यमीलाई लिन सकिन्छ । तिनीहरूले आफ्नो कार्यप्रतिको लगाव, इमाननरी, राष्ट्रप्रेम, सहअस्तित्व, सदाचार र सद्भाव, आधुनिकीकरणको प्रयोग, आफ्नो सोचमा आफ्नै नेतृत्वदायी भूमिकाको अवसर र नयाँपनको कारण युवा उमेरमै उदाहरणको रूपमा स्थापित हुन सफल भएका छन् । जस्तैः गगन थापा (नेपाली कांग्रेस), प्रभु साह (माओवादी केन्द्र), राजकिशोर यादव (राजपा) गोकर्ण विष्ट (नेकपा एमाले), मार्क जुकरबर्ग
(फेसबुक), स्टेभ जेभ्स (एप्पल) आदि ।

यसो भन्दै गर्दा वृद्धहरूको योगदान र अनुभवलाई पनि अवमूल्यन गर्न मिल्दैन किनभने, आजको कुनै पनि आविष्कार र उपलब्धि विगतको सञ्चित उपलब्धिहरूमथिको एउटा थप अतिरिक्त उपलब्धि हो । किनभने २१औँ शताब्दीको विश्वप्रसिद्ध व्यक्तित्वहरूको जन्म पाँचौँं शताब्दीमा भएको भए यही स्तरको आविष्कार र परिवर्तन गर्न असक्षम हुन्थे होला । ठीक त्यसैअनुसार आजको युवा आफ्ना अग्रजहरूको औँला समातेर हिँड्न सिकेका कारण उहाँहरू विद्यमान गुण, विशेषता, कार्य कुशलता, अतीतका अनुभव, सोच र चिन्तनबारे जानकार भइसकेको छन् । जसका कारण उनीहरूमा थप नयाँपन तथा आधुनिकीकरणसँगको अभ्यासबीच अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्न सक्ने क्षमता र विचारको भण्डार हुन्छ । नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामथ्र्यको यथोचित सदुपयोग गर्न सकिन्छ ।

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी
र क्रियाशील बनाउनका निम्ति, युवा जमातलाई अपनत्व (आफ्नोपन) महसुस गराउनका निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनका लागिसमेत युवा आरक्षणको अपरिहार्यता छ । किनभने, राजनीतिमा युवाले आधुनिकीकरणको प्रयोग सहज रूपमा गर्न सक्छन् । जस्तैः अंक गणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरूको प्रयोगमा युवा अगाडि छन् । अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिप्रतिको समाजिक मोह र आदर्शलाई माथि उठाउनका लागिसमेत युवालाई भूमिका दिँदा फलदायी परिणाम आउँछ । वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्य नजर गर्ने हो भने राजनीतिक रूपमा मोनोपोलाइज नै युवालाई अघि बढ्न नदिन लगाइएको सिन्डिकेट हो ।

संकुचनमा परेका, आर्थिक रूपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंकाको घेरामा रहेका युवाहरूका लागि आरक्षण अनिवार्य छ । आज राजनीति घृणित खेलको रूपमा स्थापित हुँदै छ । राजनीतिप्रतिको युवा धारणा नराम्रो हुँदै गएको छ । अभिभावकको अपेक्षा र चलेको चलनजस्ता आधारभूत कारणले गर्दा आमयुवालाई विनाआरक्षण राजनीतिमा न्यायोचित सहभागिता केही वर्षसम्मका लागि लगभग असम्भव नै देखिन्छ । त्यसकारण, आजैबाट यस पुनित कार्यमा हामी लाग्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दल व्यक्ति, निर्वाचन आयोग, विभिन्न संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, पत्रकार लगायतका सरोकारवाला सम्पूर्णले व्यक्ति तथा निकायहरूले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा इमानदारीपूर्वक खुलेर बहस प्रारम्भ गर्नु जरुरी छ । यस मुद्दामा न्यायोचित, व्यावहारिक एवं वैज्ञानिक प्रयोगमाथि जोड दिने बेला भएको छ ।

किनभने, मुख्यतः वृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होस र युवाको जोसबीच शक्ति सन्तुलनका निम्तिसमेत वर्तमान राजनीतिमा युवाको उच्च नेतृत्व र निर्णय शक्ति केन्द्रहरूमा पहुँच आवश्यक देखिन्छ ।
(साह राष्ट्रिय जनता पार्टी नेपालनिकट विद्यार्थी नेता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार