राम योङ्हाङ
इलाम : आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि इलाममा ४ दिनको अवधिमा झण्डै आठ सय जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा बुधबारसम्म सात सय ९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जसमा तीन सय ६४ महिला र चार सय ६५ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर कृष्णकुमार लिम्बू जानकारी दिए ।
बिहीबार मात्र दुई सय १६ जनाले मतदााता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा एक सय ५ जना महिला र एक सय ११ पुरुष रहेका छन् । नाम दर्ता गराउनेमा युवादेखि वृद्धवृद्धा समेत रहेका छन् । जसमध्ये धेरैजसो विदेशिएका युवाहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
साउन १ गतेबाट सुरु गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रम साउन १६ गतेबाट जिल्लाका सबै नगरपालिका र गाउँपालिकाबाट सञ्चालन गरिने बताईएको छ ।
निर्वाचन आयोगले साउन १५ गतेसम्म जिल्लामै आएर नाम दर्ता गराउने समय तोकेको तथा साउन १६ गतेबाट साउन मसान्तसम्म जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको केन्द्रमा पनि नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
साउन मसान्तसम्म चल्ने मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी भई यसअघि मतदाता नामावलीमा नाम समावेश नभएका व्यक्तिले नगरपालिका र गाउँपालिकाको केन्द्रमा गएर नाम दर्ता गराउन सक्ने लिम्बूले बताए ।