जनताले कांग्रेसको नेतृत्व चाहेका छन् : सिटी शेर्पा

नेपाली कांग्रेसका तर्फबाट माइजोगमाई गाउँपालिकाका अध्यक्षका उम्मेद्वार पेम्बाछिरि (सिटी) शेर्पा ।

लामो समयपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि माइजोगमाई गाउँपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका लागि पेम्बा छिरि शेर्पा चुनावि मैदानमा उत्रिएका छन् । २०४६ सालबाट नेपाली कांग्रेसमा आबद्ध भइ राजनैतिक प्रवेश गरेका शेर्पा नेपाली कांग्रेसका क्रियाशिल सदस्य हुन् । पार्टीभित्र लोकप्रिय बनेका शेर्पा २०५४ सालमा पनि नेपाली कांग्रेसको तर्फबाट तत्कालिन नयाँबजार गाविसको अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएर पराजित भएका थिए । विकासप्रेमी, स्पष्ट वक्ता र कर्तव्यनिष्ठ व्यक्तिको पहिचान बनाएका शेर्पालाई आम मानिसले सिटि शेर्पाको नामले चिन्ने गरेका छन् । प्रस्तुत छ उनै पेम्बाछिरि (सिटी) शेर्पासँग निर्वाचनको पेरीफेरीमा रहेर नयाँ बुलन्दकर्मी नरेन इलामलीले गरेको कुराकानीको सम्पादित अशं :

केमा व्यस्त हुनुहुन्छ ?

चुनाव नजिकिँदै गर्दा हाम्रो सारा पार्टी पङ्कतिनै चुनावL प्रचारमा जुटेको छ । म लगायत पार्टीका सम्पुर्ण नेता कार्यकर्ता बिभिन्न भातृसंगठन र पार्टीका शुभचिन्तकहरु जनताको घरदैलोमा गएर हाम्रा एजेण्डाहरु राख्ने र आफ्नो पक्षमा मत माग्दै छौँ । यसमा अर्को महत्वपुर्ण काम भनेको मतपत्र बदर नहोस् भनेर मतदाता शिक्षाको कार्यक्रम पनि चलाइरहेका छौँ । पहिलो चरणको घरदैलो कार्यक्रम सकेर अब चाहिँ चुनावी आमसभाको तयारीमा जुटेका छौँ ।

तपाईँको उम्मेदवारी केका लागि ?

नेपालका हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको जनतासामु छर्लङ्ग छ । २००७ सालमा प्रजातन्त्र स्थापना गरि नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्नेदेखि २०७२ मा जनताका प्रतिनिधीद्वारा संविधान निर्माण गरी विधिको साशनको स्थापना गर्ने सम्मका कामहरु नेपाली कांग्रेसको नेतृत्वमा भएको जनतालाई जगजायज छ । त्यही उपलब्धिहरुलाई संस्थागत विकास गरि जनतालाई संबृद्ध बनाउनका लागि मेरो उम्मेदवारी हो ।

जनताले तपाईँलाई नै मतदान किन गर्नुपर्ने ?

स्थानीय तहमा सुशासन कायम गर्न, लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत विकास गर्न, स्थानीय सरकारका अधिकारहरुलाई सुनिश्चित गर्न, संविधान कार्यान्वयन गर्न, स्थानिय क्षेत्रलाई विकसित र समृद्ध बनाउन मेरो नेतृत्वमा रहेको नेपाली कांग्रेसको टिमलाई अत्याधिक मतले बिजयी गराउन जनता आतुर छन् ।

आफ्नो गाउँपालिकालाई समृद्ध बनाउन तपाईँसँग के कस्ता योजनाहरु रहेका छन् ?

जनसरोकारका हरेक विषयहरुलाई म योजनावद्ध रुपमा अघि बढाउने छु । बिशेषत: यातायात, खानेपानी तथा सरसफाई, सिँचाई, विद्युतिकरण, पर्यटन प्रवर्दन, कृषि, शिक्षा, स्वास्थ्य, संञ्चार जस्ता जनताका प्रत्यक्ष सरोकार रहेका बिषयहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने छु । माइजोगमाई गाउँपालिका पूर्ण रुपमा ग्रामीण क्षेत्रमा अवस्थित छ । यहाँ रहेका सडकहरुको स्तरीकरण गर्ने, नयाँ सडकहरु थप गर्ने जस्ता काम अघि बढाउने छु ।

शुद्ध पिउने पानीको पहुँचबाट बञ्चित भएको घर परिवारको पहिचान गरि शुद्ध खानेपानी को ब्यवस्था गर्ने, पानीको शुद्धता जाँच गर्ने यन्त्र उपकरणको ब्यवस्था गर्ने, पर्याप्त मात्रामा सिँचाईको ब्यवस्था गरि कृषि उत्पादनमा प्रोत्साहन गर्ने, ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखि विद्युतलाईन बिस्तार गर्ने र वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहन र सहयोग गर्ने, कृषिमा आधुनिकिकरण गरि उन्नत बिउबिजनको सहज ब्यवस्था गर्ने, दक्ष कृषि प्राविधिक र पर्याप्त मलको ब्यवस्था गर्ने, कृषि बजारको पहिचान गरि उत्पादित बस्तुको बजारीकरण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई सबै जनताको पहुँचमा पुर्याउने, गाउँपालिका स्तरमा बिशेषज्ञ सेवा सहित ५० शैयाको अस्पताल निर्माण गर्ने, पुर्ण खोप र पुर्ण सरसफाई कार्यक्रमलाई निरन्तरता दिई खोप केन्द्र र गाउँघर क्लिनिकलाई सुविधा समपन्न बनाउने, स्थानिय तहमा एफ.एम रेडियो, पत्रपत्रिका संचालनमा ल्याई सबै नागरिकलाई सुचनाको पहुँच सम्म पुर्याउने, केवल लाइन तथा इन्टरनेटको पहँच बिस्तार गर्ने, आवश्यकता अनुसार नेपाल टेलिकमका टावर राख्ने जस्ता योजनाहरु मैले प्राथमिकताका साथ अघि बढाउने लक्ष्य बनाएको आमजनतामा जानकारी गराउँदछु।

माइजोगमाई गाउँपालिका पर्यटनको दृष्टिकोणले पनि धेरै सम्भावना बोकेको क्षेत्र हो । के छन् यस सम्बन्धमा तपाईँका योजनाहरु ?

पक्कै पनि माइजोगमाई गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु छन् । तिनीहरुलाई विकास र प्रवर्दन गरि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । जसका लागि गाउँपालिका भित्र रहेका ठुला साना धार्मिक तथा पर्यटकिय स्थलहरुको पहिचान गरि पर्वाधार बिकास गर्ने, सूर्योदयको दृष्यावलोकन गर्न सकिने थुम्के डाँडामा भ्युटावर निर्माण गर्ने, यहाँ रहेका सम्भावित पर्यटकिय स्थलहरुलाई पिकनिक स्पोर्टका रुपमा विकास गर्ने, होटल व्यवसाय तथा होमस्टे संचालन गर्न प्रोत्साहन गर्ने, उत्तरेपोखरी, मलुपोखरी, साततले झरना जस्ता प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने, हाटबजार, धार्मिक मेला पर्वलाई थप ब्यवस्थित गर्न गाउँपालिका स्तरमा एक अधिकार समपन्न कला संस्कृति तथा पर्यटन उपसमिति तथा पर्यटन सुचना केन्द्र निर्माण गर्ने योजनाहरु रहेका छन ।

बैदेशिक रोजगारीका लागि परदेशिने युवाहरुलाई लक्षित गरी रोजगारी प्रदान गर्ने के छन् तपाईका युवा केन्द्रित योजनाहरु ?

एकदमै सहि र सान्दर्भिक प्रश्न गर्नु भयो । पछिल्लो समय बैदेशिक रोजगारी बाध्यता नै बनिसकेको छ । देशमा रोजगारीको अवसर नपाउने र पाइहाले पनि अरुको मुख ताक्नु पर्ने संस्कार नै बनिसकेको छ । एकातिर युवाहरु पलायन हुनाले देशको बिकास नै पछि परेको छ भने अर्का तिर विदेशिको अन्यायपुर्ण व्यवहार सहरे ज्यान समेत जोखिममा राखेर काम गर्नु पर्ने बाध्यता छ । यस्ता समस्याहरुलाई मध्यनजर गरेर हामीले केहि योजनाहरु ल्याएका छौँ । जसमध्ये कृषिमा आधुनिकिकरण गरि व्यवसायिक कृषि तथा पशुपालनमा जोड दिने, कृषि तथा पशु प्राबिधिकको तालिमको ब्यवस्था गर्ने, पर्यटक गाइड र होमस्टे संचालन तालिम तथा प्रशिक्षणको ब्यवस्था गर्ने, सामुहिक लगानीमा खेती गर्ने प्रणालीको विकास गर्ने, सहकारीको अवधारणालाई गाउँगाउँसम्म लैजाने र युवा स्वरोजगारका लागि सहकारीको माध्यमबाट युवाहरुलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने, व्यवसायिक कृषि, जडिबुट्टि र पशुपालनका लागि सहुलियत ऋण र अनुदानको व्यवस्था गर्ने र विभिन्न सीपमुलक तालिमहरुको ब्यवस्था गरि प्रत्यक्ष रुपमा युवाहरुलाई परिचालन गर्ने कार्यक्रमहरु हामीले ल्याएका छौँ ।

तपाईँका कार्यक्रमहरु राम्रा छन् । तर चुनावि नारा मात्रै बन्ने त हैनन ?

त्यस्तो हुदैन । कांग्रेसले झुटको राजनिती गर्दैन। हामी जनताको भावनाको कदर गर्दै जनताको आवश्यकतालाई हाम्रा कार्यक्रममा समावेश गरेर उठाएका छौँ । जुन हामी पुरा गर्छौँ । पुरा हुन नसक्ने, क्षमता बाहिरका कार्यक्रमहरु हामीले ल्याएका छैनौँ, त्यसैले हाम्रो नेतृत्वको स्थानीय सरकार बनेको खण्डमा हामी यसलाई पुरा गरेर देखाउँनेछौँ ।

तपाईँको जित्ने सम्भावना कतिको छ ?

जित्ने सम्भावना प्रशस्त छ। पछिल्लो समय नेपाली कांग्रेसमा जनलहर बढेको छ । अन्य पार्टीको नेतृत्व सम्हालेका व्यक्तिहरु समेत नेपाली कांग्रेसमा धमाधम प्रवेश गरिरहेका छन् । जनताले पनि कांग्रेसकै नेतृत्व चाहेका छन् त्यसैले हाम्रो जित सुनिश्चित छ ।

यदि मतपरिणाम तपाईँको पक्षमा आएन भने के गर्नु हुन्छ ?

त्यस्तो हुदैन हाम्रो जित निश्चित छ । तर चुनाव हो हार जित त हुन्छ नै यदि म पराजित भएर अन्य कोहि बिजयी भयो भने पनि मलाई गुनासो हुने छैन । हामी लोकतान्त्रिक व्यवस्थालाई स्विकारेको पार्टी हार र जितलाई स्विकार गर्छौँ र जनताको मतको कदर गर्छौँ । जित्नेको राम्रा कामको समर्थन र नराम्रा कामको विरोध र सजग गराउँछु । म जनताको हकहितका लागि लडिरहन्छु, बिकासका काममा लागिरहन्छु । साथै पार्टीलाई संगठित र थप ब्यवस्थित गरेर लाने र विपक्षिलाई समेत मिलाएर अघि बढ्ने छु ।

तपाईँले आफ्नो प्रमुख प्रतिस्पर्धिको रुपमा कसलाई लिनु भएको ?

हाम्रो प्रमुख प्रतिस्पर्धा एमाले सँग नै हुन्छ।

जनताको बुझाई के छ भने निर्वाचनमा जसले बढि खर्च गर्छ उसैले चुनाव जित्छ, यसमा तपाईँको बुझाई के छ, कति खर्च गर्ने योजना मा हुनुहुन्छ ?

प्रमुख कुरा त चुनाव पैसाले जित्ने हैन बिचार र जनताको विस्वास (मत) ले जित्ने हो । पैसा खर्च गरेर जितेको चुनाव जनताको पक्षको चुनाव नभएर पैसामुखि र सत्ताप्राप्तिको मात्र हुन्छ । यतिका वर्षपछि हुन लागेको चुनावले पैसामुखि र सत्ताप्रमी हैन जनमुखि र जनता प्रति उत्तरदायि जनप्रतिनिधि छानुन भन्ने मेरो चाहना हो । म आम मतदातालाई पनि भन्छु कि लोभ लालचा र प्रलोभनमा नपरी स्वतन्त्र मत प्रदान गर्नुहोस् । खर्चको सम्बन्धमा निर्वाचन आयोगले मापदण्ड तोकेको छ त्यति पनि खर्च गर्दिँन । म पैसाको राजनिति हैन जनताको हकहितको राजनिति गर्छु । खान बस्न यातायात खर्च र सामान्य प्रचार प्रसार बाहेक अन्य खरमच गरमने मनासयमा म छैन ।

अन्त्यमा आम मतदातालाई के भन्न चाहनु हुन्छ ?

अन्त्यमा नेपाली कांग्रेस जनताको दरिलो आधार हो, परिवर्तनको संवाहक हो । २००७ सालमा जनक्रान्तिको नेतृत्व गरि नुरंकुश शासनको अन्त्य गरि रैतीबाट नागरिक बनाउने, २०१५ सालमा क्रान्तिकारी परिवर्तनको थालनी गरेर सामन्तवादको जरो उखेल्ने, २०३६ सालमा बहुदलिय प्रजातन्त्रको पक्षमा जनमत निर्माण गर्ने, माओवादीले संचालन गरेको १० वर्षे सशस्त्र क्रान्ति, हत्याहिंसाको राजनितिलाई अन्त्य गर्न सात बुँदे सहमति गरि माओवादीलाई मुलधारमा ल्याइ स्थायी शान्ति कायम गर्ने र जनताको सात दशक लामो चाहना आफ्ना जनप्रतिनुधी मार्फत नेपालको संविधान निर्माण गर्ने जस्ता कामको नेतृत्व गरि नेपालको संविधान २०७२ जारी गरि देशलाई विधिको शासन ब्यवस्था स्थापना नेपाली कांग्रेसकै नेतृत्व मा भएको सबै मा जानका नै छ । त्यसैले यसलाई सफल कार्यान्वयन गर्न पनि कांग्रेसकै नेतृत्व आवश्यक छ । देशमा समृद्धिको अभियान कांग्रेसकै नेतृत्व मात्र सम्भव छ । त्यसैले यस स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हमा सातै छाप लगाइ नेपाली कांग्रेसका सम्पुर्ण उम्मेदवारहरुलाई विजयी गराउनुहुन आम मतदाताहरुमा आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार