खिवेक्वा महापर्वको महत्व

Nanda-nembang
नन्दकुमार नेम्बाङ ‘गाउँलेजी’

विषय प्रवेश

किरातहरु प्रकृतिपूजक हुन। त्यसैले हरेक धार्मिक अनुष्ठानहरुमा जल, थल, वायु, आकाश र अग्नीसहित देवी देउराली, खोलानाला र कुलदेवताहरुको सेवा भक्ति गर्ने गर्दछन्। पृथ्वीमा रहेका सबै प्राणी जगत, सजीव निर्जीव सबै वस्तु आफूभन्दा जेठो भएकोले उनीहरुको आदर सम्मान भाव प्रकट गर्ने गर्छन्।

यसै शिलशिलामा छरपोक गर्न अघि जग्गाजमिन खनजोत गर्दा अचानक मर्ने किटपतंगको मुक्ति र धर्ती माताको काखमा छरिएको बीउबिजनले पर्याप्त उब्जनी देओस् भन्ने आशाले प्रत्येक वर्ष सेवा आराधना गर्ने गरिन्छ। समग्रमा यसैलाई खिबेक्वा याक्वा सेवा भनिन्छ।

परम्परादेखि किरातहरुले रहनसहन गर्ने क्रममा प्राकृतिक रुपमा देखापरेका समस्याहरुसँग जुध्न विभिन्न उपायहरु अपनाउँदै आएका छन्, जसका लागि भौतिक र अध्यात्मिक दुबै विधि प्रयोगमा ल्याएका छन्। यस विधिका लागि स्वयं तागेरा निङवाभूमाङको प्रतिनिधि नै धर्तीमा प्रकट भई शिक्षा दीक्षा दिएको पाइन्छ।

खिबेक्वा र मुबेक्वाको फरक आयाम

खिबेक्वा शब्दको संक्षिप्त अर्थ उभौली र मुबेक्वाको उधौली हुन्छ। जब प्रकृतिमा परिवर्तन शुरुवात हुन्छ, तब किरातहरुले उभौली पर्व मनाउँछन। त्यसैले किरातहरुले आफूलाई प्रकृतिपूजक ठानेका हुन्।

माघ देखि करिब साउनसम्म उभौली र भदौदेखि पुस अन्तिमसम्मलाई सामान्यतया उधौली मानिन्छ। उभौली र उधौलीका मौलिक मूल्य मान्यताहरु पनि फरक फरक छन्। यसका अलग अलग आयामहरु हाम्रो समाजमा लौकिक र अलौकिक तवरले स्थापित भएको छ।

उभौली अर्थात माघ महिनाको उत्तराद्र्धसँगै पृथ्वी खनजोत योग्य हुने, बनस्पतिले पालुवा फेर्ने, चराचुरु·ीहरुले आवाजमा परिवर्तन गर्ने, चिसोबाट न्यानो शुरु हुने, जग्गाजमिनहरु छरपोक गर्न योग्य हुने आदि उभौलीका बिशेषता हुन्। यससाँगै बालीनालीको बृद्धि हुने, जलचरहरु हिमालय नजिक जाने, थलचरहरु पनि बेंशीबाट लेकतिर जाने अवस्थाहरु यस यामसँगै शुरुवात हुन्छ। जसलाई किरातहरुले उभौली अर्थात खिबेक्वा भन्छन्।

त्यसरी नै छरपोक गरेको बालीनाली पाकेर थन्क्याउने समय, बनस्पतिहरुमा परिवर्तन आउने, खोलानाला सुक्न शुरुवात हुने, हिमालय क्षेत्रबाट बेंशीतीर थलचरहरु झर्ने, थलचरहरु दक्षिणतिर झर्ने समयलाई उधौली भनिन्छ। यस समयमा पहाडी र हिमालय क्षेत्रमा बढी हिमपात हुने भएकोले पृथ्वीमा बसोबास गर्ने प्राणीजगत न्यानोठाउँ खोज्दै दक्षिणी क्षेत्रमा आउने गर्दछन् भने जलमा बस्ने माछा लगायतका जलचरहरु पनि दक्षिण झर्ने गर्छन्।

खिबेक्वा महापर्व
यो पर्व करिब करिब लोपोन्मुख भइसकेको थियो। त्यसैले खिबेक्वा के हो, यो किन मनाइन्छ भन्ने बारेमा अहिलेसम्म पनि अन्यौलता रहेको छ। वि.सं. २०४६ को परिवर्तन पछि किरात धर्मले चलाएको सांस्कृतिक रुपान्तरण र पुनर्जागरणको अभियानले धेरै हदसम्म सुसूचित गराए पनि किरात पर्वका बारेमा अन्यौलता अहिलेसम्म छ। तथापि, समयसापेक्ष सञ्चारको विकास, सामाजिक सञ्जालमा युवाहरुको लगाव आदिका कारण लामो बहस र छलफलले किरात पर्वहरुले ब्यापकता पाउँदै गएको छ।

खिबेक्वा (उभौली) पर्व किरात धर्मले महापर्वको रुपमा अगाडि बढाएको छ। तर, मुलुकको धार्मिक तथा सांस्कृतिक हस्तक्षेपका कारण लोप भइसकेको पर्वलाई उठाउन त्यति सहज अपश्य थिएन र छैन।

वि.सं. २०५४/५५ यता किरात धर्मले सांस्कृतिक पर्वका रुपमा संस्थागत रुपले मनाउन थाल्यो। माङसेबुङमा देशी विदेशी हजारौं भक्तजनको सहभागिता गराउँदै प्रत्येक वर्षको ५, ६ र ७ गते वार्षिक रुपमा मनाउँदै यस पर्वलाई परम्परागत बनाउँदै लगेको छ। किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को आज्ञा अनुसार शुरुवात भएको यो पर्वले बिस्तारै अन्तर्राष्ट्रिय रुप लिंदै गएको छ।

किरात धर्मले खिबेक्वा पर्वलाई महापर्वका रुपमा बिकास गर्न बनाएको रणनीतिक योजना अनुरुप नेपालका बिशिस्ट ब्यक्तित्वहरु तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन राजा ज्ञानेन्द्रविक्रम शाह, गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादव, नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका सबै प्रधानमन्त्री र राष्ट्रप्रमुखहरुलाई उपस्थित गराइसकेको छ।

यससँगै वि.सं. २०७१ बैसाक २४ गते माङसेबुङमा आयोजित ८४औं किरात समाजसुधार दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माघ १ देखि ७ गतेसम्मको खिबेक्वासहितको पर्वहरु सार्वजनिक गरेका छन्।

खिबेक्वा सेवा र माङवाहाङवा

खिबेक्वा (उभौली) पर्वमा प्रकृतिको अनुपम देनमा रहेका चराचर सृष्टि, सकल प्राणी सबैको सुख शान्ति र समृद्धिका लागि सेवा आराधना गरिन्छ। यससँगै मानव सभ्यताको बिकास र सुख शान्तिका लागि पञ्चतत्व, देवीदेवता, कुलदेवताहरुबाट अध्यात्मिक बलबाट सिद्धि शक्ति मागिन्छ।

परम्परादेखि नै आदिवासीहरुले भूमि लगायत प्राकृतिक सन्तुलनको लागि र धर्तीको काखमा रहेको सजीव प्राणीको सुख, समृद्धि र निर्जीव वस्तुको संरक्षणका लागि भक्तिभाव गर्दै आएका छन्। यसरी गरिने आराधनाबाट अलौकिक शक्ति प्राप्त हुने किरात मिथक रहिआएको छ। यस कार्यले देवत्वको निरन्तरता, समृद्धि र सभ्यताको बिकास तथा वातावरणमा सन्तुलन, ज्ञान शिक्षामा वृद्धि, धनधान्यको प्राप्ति हुने विश्वासका साथ सामुहिक रुपमा माङवाहाङवा माग्ने गरिन्छ।

पुजापाठ र आराधनाको माध्यमबाट दैवीशक्तिको रुपमा मागिएको माथि उल्लिखित बिषयहरु प्राप्त हुने अपेक्षासहित बीउबिजन र ढक्की पैसा लगाएर (सुम्बोहुक्वादाङ्सा) आर्थिक, शारीरिक र मानसिकरुपमा सहयोग गर्नेहरुलाई वितरण गर्ने र ग्रहण गर्ने गरिन्छ। यसैलाई माङवाहाङवा भनिन्छ। यो कर्म किरात समुदायको प्राचीनकालीन परम्परा हो।

आदिम समयमा यसको रुप सामुहिक र बृहद थियो। तर, कालान्तरमा यो संस्कार विलय हुन लागिरहेको अवस्थामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको अगुवाइमा यस कार्यको पुनर्उत्थान गर्ने काम भएको छ।

५० को दशकबाट माङसेबुङबाट सामुहिक र बृहदरुपमा मान्न थालेको अढाई दशकको हाराहारीमा खिवेक्वा सेवा अन्तर्राष्ट्रियकरण हुँदै गएको छ। सप्ताहब्यापी मनाइने यो खिवेक्वा पर्व सांस्कृतिक मात्र होइन प्राकृतिक पनि छ।

निष्कर्ष
विश्वमा अहिले अशान्ति र बिग्रहले मानव जीवन आक्रान्त बन्दै गएको छ। भौतिक सुख सुविधाले गर्दा आवश्यक्ता भन्दा धेरै मानिसहरु सुखसयलमा डुबिरहेका छन्। भौतिक र अध्यात्मिक जीवनको तादाम्यता नहुँदा सामाजिक र सांस्कृतिक कर्महरुमा विचलन आइरहेको छ।

आधुनिकताको नाममा भइरहेको परिवर्तनले हाम्रा धार्मिक सांस्कृतिक धरोहरलाई प्रहार गर्दै लगेको छ। जसले गर्दा किरात समुदायमा प्रचलित अनेकन संस्कृतिहरु विलिन हुन लागिरहेको अवस्था छ। उदाहरणका लागि प्राचीनकालमा किरातहरुले गरेको लाधुङसेमी सेवा (चरु हवन) लाई अहिले हिन्दु धर्मको हो भन्ने एकखाले मानसिकता विकास भइसकेको छ। तथापि, वास्तविकता फरक थियो।

त्यसैकारण किरात धर्मले हराउँदै गएको धर्म, संस्कृति र पर्वहरुलाई पुनर्उत्थान गर्दै, पुनर्जागरण गर्दै ल्याएको छ। संगठित रुपमा अगाडि बढाएको यो धार्मिक तथा सांस्कृतिक गतिविधिले अपेक्षित उपलब्धि हासिल हुँदै आएको छ। जुनकुरा समयसापेक्ष र निर्विकल्प रहेको छ। तसर्थ, सम्पूर्ण किरात धर्मावलम्बी र शुभेच्छुक महानुभावहरुले बैचारिक एवं भावनात्मक रुपमा यी सांस्कृतिक धरोहरहरुलाई आत्मसात गर्दै एकताबद्ध हुन जरुरी छ।

-किरातन्युजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार