पृथक विशेषताको पर्यटकीय स्थल ‘माङमालुङ’

राम योङ्हाङ लिम्बू

चारैतिर सुन्दर गाउँ । छेउमा माङमालुङ बजार । अनि लेकाली कटुसको घेराभित्र अवस्थित एउटा डाँडा । इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा जाँदा पुगिन्छ त्यो ठाउँ । एउटा बेग्लै पहिचान बोकेको त्यो ठाउँ हो  माङ्मालुङ । अन्य पर्यटकीय स्थलहरुभन्दा विल्कुल पृथक छ ।

धार्मिक तथा पर्यटकीय महत्वको माङ्मालुङ समुन्द्री सतहबाट झण्डै दुई हजार एक सय मिटरको उचाईमा पर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ बाँझो र इभाङ गाउँ विकास समितिको सीमानमा पर्छ । दुवै गाविसको भुभागलाई ओगटेको छ । बाँझो गाविसको वडा नम्बर ६ र इभाङ्ग गाविसको वडा नम्बर ४ र ५ को करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । माङ्मालुङ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमध्ये एक प्रसिद्ध ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल हो ।

माङमालुङको पहिचान अलि बेग्लै छ । यसको छुट्टै मौलिक पहिचान र इतिहास छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र हो । विविधताले भरिपूर्ण मनमोहक माङमालुङ घुम्न आउने जो कोही पनि यसको वर्णन गर्न चुक्दैनन् । चिसोचिसो मौसम, सिरसिरे हावा अनि माङमालुङ डाँडाबाट देखिने सुन्दर दृश्यले मन नलोभ्याउने कुरै भएन । अर्को डाँडा पुग्नु पर्दैन तराईका सुन्दर भूभागहरु हेर्न । एकातिरको छेउमा बसेर आँखा खोल्ने हो भने पूर्वी क्षेत्रका तराईका भूभागहरु सहज रुपमा अवलोकन गर्न सकिन्छ । यहाँबाट झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरीलगायत पूर्वी तराईसँग सीमा जोडिएका भारतका जिल्लाहरु देख्न सकिन्छ ।

माङमालुङबाट देखिएका तराईका सुन्दर भुभागहरु ।

त्यति मात्र होईन, नेपाल र भारतको सीमा छुट्याउने मेची नदी, ऐतिहासिक कन्काई नदी, झापामै अवस्थित विरिङ खोला, कमल खोला, रतुवा खोला, झापा र मोरङ जिल्लाको सीमा छुट्याउने मावा खोला र सप्तकोसी नदीलाई पनि यस क्षेत्रबाट आँखाको नानीमा राखेर हेर्न सकिन्छ । आङ तानेर हेर्नु पर्दैन मकालु, कुम्भकर्ण, कञ्चनजंगा लगायतका हिमालहरु । सूर्योदय र सूर्यास्तका दृष्यहरु पनि सहजै पनि देख्न सकिन्छ ।

माङमालुङबाट देखिएको कुम्भकर्ण र कञ्चनजंगा हिमाल ।

त्यस्तै माङ्मालुङको अर्को आकर्षणको केन्द्र चक्रशिला हो । यहाँ एउटा अचम्मको ढुङ्गा छ । यहाँका आगन्तुक जो कोही पनि एकपटक सो ढुङ्गा नहल्लाई फर्कदैंनन् । यो ढुङ्गाको छुट्टै आकर्षण छ । त्यस ढुङ्गालाई चक्रशिला भन्ने गरिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एक औंला (कान्छी औंला) ले पनि सजिलै हल्लाउन सकिन्छ । तर त्यहाँबाट हटाउन भने सकिदैंन । यहाआएका जो कसैले पनि एक पटक पल्टाउने कोसिस गर्छन् तर सक्दैनन् । एकै औंलाले पनि सजिलै हल्लने यो ढुङ्गा पल्टाउन नसकिनुको पछाडिको रहस्य भने अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेको छैन ।

झण्डै आधा भाग भीरको खाली भागमा प्रष्टै रुपमा देख्न सकिने यो ढुङ्गा अलौकिक शक्ति भएको कारण यस्तो भएको स्थानीयहरु बताउँछन् । यति मात्र भन्दा पक्कै पनि अन्याय हुनेछ । किनकी माङ्मालुङको अर्को पाखामा रहेको सुन्दर हरीयाली चियाका बगान पनि यसको गहना हो । यसको सुन्दरतामा पनि जो कोही रम्न सक्दछन् ।

माङ्मालुङमा अवस्थित चक्रशीला । यसलाई कान्छी औंलाले नै सजिलै हल्लाउन सकिन्छ तर, जतिसुबै बल प्रयोग गरेर पनि पल्टाउन भने सकिदैन ।

यसका साथै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका देवीदेवता, पशुपंक्षी तथा प्राकृतिक शीलाहरुमा कुँदिएका विभिन्न प्रकारका आकृतिहरु, बिजुवानी देबीको ढुंगा (थालाचेप्पा), बाघढुङ्गा, बेउलाबेउली ढुङ्गा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफालगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु पाइन्छन् । साथै विभिन्न प्रजातिका पंक्षीहरु तथा चराचुरुङ्गी, लोपोन्मुख सुनाखरी (अर्किड), रंगीचंगी फूलहरु, विशाल चौरसगै रहेको पोखरीहरु, अवतारी डाँडालगायतका पक्षहरु त झनै आकर्षक र आश्चर्यजनक छन् । यस्ता ऐतिहासिक महत्वको बिषयमा आवश्यक प्रचारप्रसार गर्न नसक्दा धार्मिक तथा पर्यटकीय महत्व बोकेको भएपनि माङ्मालुङ अहिलेसम्म ओझलै परेको छ ।

माङ्मालुङमा अवस्थित बिजुवानी देवीको ढुंगा (थालाचेप्पा) ।

माङमालुङको अहिलेको पहिचान पर्यटकीय स्थल भए पनि पुरानो पहिचान भनेको धार्मिक स्थल पनि हो । यस क्षेत्रमा बसोबास गर्ने किरात समुदायका राई र लिम्बू जातिहरुले यस क्षेत्रमा पुजा पाठ गर्ने गर्दछन् । प्रकृति पुजक मानिने किरातीहरु यसै क्षेत्रमा पुजा गर्ने भएकोले यस क्षेत्रको नाम पनि किराती भाषामा माङमालुङ (देवता ढुङ्गा) भनेर राखिएको पाइन्छ ।

माङ्मालुङ् आसपासमा राई र लिम्बू जातीहरुको बाहुल्य छ भने बाहुन/क्षेत्री, मगर, कामी, दमाईलगायत विविध जातिको बसोबास छ । जातीय विविधताअनुसार भाषिक, धार्मिक तथा साँस्कृतिक बाहुल्यता रहिआएको छ । यहाँका स्थानीयवासीको आयआर्जनको मुख्य बाटो कृषि हो । पछिल्लो चरण वैदेशिक रोजगारमा जाने र यसैमा आश्रित हुनेको संख्या पनि बढ्दो छ । कृषितर्फ अलैंची, कूचो, अदुवा, चिया, स्कूसलगायत खाद्यान्न बाली मकै, आलु मुख्य हुन् ।

माङमालुङ क्षेत्रमा रहेको हरियाली चियाबारी ।

माङ्मालुङ पुग्न इलाम सदरमुकामबाट एक दिनको पैदल यात्रा तय गर्नुपर्छ । गाढी चढेर सदरमुकामदेखि मेची लोकमार्ग हुँदै पाँचथरको सीमावर्ती राँकेबाट घुर्पिसे पञ्चमीरवी हुँदै र अर्को बाटो इलामकै नेपालटारमंगलबारेगजुरमुखीइभाङ्ग हुँदै पनि पुग्न सकिन्छ । त्यस्तै सुविधा सम्पन्न जिल्ला झापाको दमकदेखि गाडीबाट रतुवा खोलाको किनारैकिनार ११ किलोमिटर दुरी पार गरी त्यसपछि बाँझोको माङ्सेबुङ हुँदै तीन घण्टामा (झापाबाट ३० किलोमिटरको दूरीमा रहेको) माङ्मालुङ पुग्न सकिन्छ ।

यो मोटरबाटो निर्माणाधीन दमकचिसापानीरवि सडक (फाल्गुनन्द मार्ग) हो । पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङ्गको मदुमलाबाट पेरुगेंटोड्केकुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । पर्यटन प्रवद्र्धनको लागि फाल्गुनन्द मार्ग निर्माणले थप उर्जा थपेको र सुगमता आएको छ । अझ यस कार्यलाई द्रुत गतिले अघि बढाउनु आवश्यक छ । जसको लागि अध्ययन अनुसन्धान तथा अन्वेषण कार्य गर्न अत्यावश्यक देखिन्छ ।

पत्रकार मिलन लिम्बूको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार